पाँचथर, ३ असार । बाढीले क्षतिग्रस्त बनाएको सिँचाइ कुलो पुनर्निर्माण हुन नसक्दा पाँचथरको माझीटार क्षेत्र चार वर्षदेखि बाँझो बनेको छ । खेतीयोग्य जमिन प्रयोगविहीन हुँदा स्थानीय माझी समुदायको जीविकोपार्जनमा गम्भीर असर परेको छ ।
फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमामा पर्ने तमोर नदी र हेंवाखोलाको किनारस्थित माझीटारमा विसं २०८० असार ३ गते आएको बाढीले दुईवटा सिँचाइ कुलो बगाएको थियो । कुलोको मुहान रहेको क्षेत्रमा खोला गहिरिएपछि दुवैतर्फ सञ्चालनमा रहेका कुलो पूर्ण रूपमा बन्द भएका छन् ।
सिँचाइ सुविधा बन्द भएपछि चार वर्षदेखि धान, तरकारी, नगदेबाली र फलफूल खेती हुन सकेको छैन । अहिले मकैबाहेक अन्य खेती गर्न नसकिएको स्थानीयवासी बताउँछन् ।
फिदिम–४ की मीना माझीले खेतीपाती बन्द भएपछि दैनिक गुजारा चलाउन कठिन भएको बताइन् । पहिले आफ्नै उत्पादनले वर्षभरि खान पुग्ने गरे पनि अहिले खाद्यान्न किनेर गुजारा चलाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले हातमुख जोड्नसमेत ऋण लिनुपर्ने अवस्था सिर्जना भएको बताइन् ।
हिलिहाङ–७ का वीरबहादुर माझीका अनुसार सिँचाइ अभावका कारण करिब ५०० मुरी धान फल्ने खेत बाँझिएको छ । बाढीले करिब १२० मुरी धान उत्पादन हुने खेत कटान र पुरान गरेको छ भने बाँकी जमिन पनि कुलो नहुँदा प्रयोगविहीन बनेको छ ।
स्थानीयका अनुसार खेतीसँगै माछा मार्ने पेसासमेत प्रभावित भएको छ । पछिल्ला वर्षमा नदीमा माछा कम पाइने भएकाले आम्दानीको अर्को स्रोत पनि कमजोर बनेको छ । केही परिवारले माछाका परिकारमा आधारित होटल सञ्चालन गरे पनि त्यसबाट पर्याप्त आम्दानी हुन सकेको छैन ।
खेती र परम्परागत पेसा दुवै प्रभावित भएपछि धेरै युवाहरू रोजगारीका लागि देश तथा विदेश पलायन भएका छन् । स्थानीयवासी तथा हिलिहाङ–७ का वडा सदस्य रामकुमार माझीले माछामा आधारित व्यवसाय प्रवर्द्धनको प्रयास भइरहे पनि त्यसले मात्रै समस्या समाधान गर्न नसकेको बताए ।
चार वर्षअघि बाढीले बगाएको सिँचाइ कुलो पुनर्निर्माणमा कुनै निकायले चासो नदिएको भन्दै स्थानीयवासी असन्तुष्ट छन् । माझी समुदायका अगुवा जसबहादुर माझीले विभिन्न निकायमा सहयोगको आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरे ।
यता, माझीटार भएर पुष्पलाल (मध्यपहाडी) राजमार्ग र तमोर करिडोर सडक गुज्रिए पनि खेतीयोग्य फाँट बाँझिँदा यहाँको पर्यटन गतिविधिसमेत प्रभावित भएको स्थानीय व्यवसायी रमेश तामाङले बताए ।
हिलिहाङ गाउँपालिकाका कार्यपालिका सदस्य वीरेन्द्र मङ्ग्रातीले विपद्बाट क्षति भएका संरचनाको पुनर्निर्माणका लागि पर्याप्त बजेटको अभाव रहेको बताए । उनका अनुसार स्थानीय तहको सीमित स्रोतले मात्रै यस्ता योजना सञ्चालन गर्न कठिन भएकाले सङ्घ र प्रदेश सरकारको सहयोग आवश्यक छ ।
माझीटारमा माझी र तामाङ समुदायका ४१ घरपरिवार बसोबास गर्दै आएका छन् ।


2026-08-11-12-08-56.jpeg)













प्रतिक्रिया थप्नुहोस्