काठमाडौं, १४ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताबाट प्राप्त गुनासाका आधारमा आकस्मिक (र्यापिड रेस्पोन्स मोडालिटी) अन्तर्गत काठमाडौंका चार खाद्य व्यवसायमा बजार अनुगमन गरेको छ । विभागले २०८३ साउन १२ गते गरेको अनुगमनमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभिन्न कमजोरी फेला परेपछि सुधारका लागि निर्देशन दिएको हो ।
अनुगमनका क्रममा एम एन आदर्श ब्वाइज होस्टेल, बिजुली बजारमा उपभोग्य म्याद सकिएको खाद्य पदार्थ प्रयोग गरिएको, व्यक्तिगत सरसफाइमा कमी, कीट नियन्त्रणको व्यवस्था प्रभावकारी नभएको तथा अस्वच्छ तरिकाले खाना तयार गरिएको पाइएको विभागले जनाएको छ । उक्त व्यवसायलाई खाद्य स्वच्छता कायम गर्न, हेयरनेट र एप्रोनको प्रयोग अनिवार्य गर्न तथा कीट नियन्त्रण थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।
त्यस्तै सिरिन हस्पिटालिटी सर्भिसेस प्रा.लि. (पाहुना भोज) मा भान्सामा साङ्लाको प्रकोप, कीट नियन्त्रण कमजोर, खुला फोहोरदानी, खाद्य रङको अव्यवस्थित प्रयोग तथा फ्रिजमा खाद्य पदार्थ अव्यवस्थित रूपमा भण्डारण गरिएको भेटिएको छ । एक थान उपभोग्य म्याद सकिएको फ्रुट सिरपसमेत फेला परेको विभागले जनाएको छ ।
कलैया सेकुवा प्रा.लि., काठमाडौं–१० मा लेबल नभएका तथा अनुमति नलिएका खाद्य पदार्थ प्रयोग गरिएको, खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण गरिएको तथा एक थान म्याद सकिएको फ्रुट सिरप फेला परेको थियो। विभागले उक्त सिरप नष्ट गराएको छ भने लेबलविहीन खाद्य पदार्थ प्रयोग नगर्न र खाद्य स्वच्छता कायम गर्न निर्देशन दिएको छ ।
यस्तै न्युदिलु सगर, काठमाडौं–१६ माछापोखरी मा भान्सामा साङ्लाको प्रकोप तथा कीट नियन्त्रण प्रभावकारी नभएको पाइएको छ । यद्यपि प्रयोग गरिएको तेलको TPM १८.५ मापदण्डअनुकूल रहेको विभागले जनाएको छ ।
विभागका अनुसार चारवटै व्यवसायलाई खाद्य स्वच्छता सुधार, कीट नियन्त्रण प्रभावकारी बनाउन तथा आवश्यक सुधार तत्काल लागू गर्न निर्देशन दिइएको छ । थप अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया काठमाडौं महानगरपालिका मार्फत अगाडि बढाइने विभागले जनाएको छ ।











प्रतिक्रिया थप्नुहोस्