उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साहित, दूध र तरकारी उत्पादनमा वृद्धि

म्याग्दी (बेनी), ३० असार । बेनी नगरपालिकाले लागू गरेको उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उत्पादन र बिक्रीका आधारमा नगद अनुदान उपलब्ध गराउने व्यवस्थाले किसानलाई व्यावसायिक खेती तथा पशुपालनतर्फ थप आकर्षित गरेको छ ।

बेनी नगरपालिका–७ का किसान सुरेश ढुङ्गानाले दैनिक करिब ३०० लिटर दूध उत्पादन गर्दै आएका छन् । ‘ढुङ्गाना कृषि तथा पशुपन्छी फार्म’ सञ्चालन गरिरहेका उनले उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत लगातार तीन वर्षदेखि वार्षिक रु ४५ हजार अनुदान प्राप्त गर्दै आएका छन् । उनका अनुसार यसले किसानको मिहिनेतको सम्मान गर्दै उत्पादन बढाउन थप प्रेरणा दिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८१ देखि उत्पादनमा आधारित अनुदान कार्यविधि लागू गरेपछि कृषि औजार वितरणको सट्टा वास्तविक उत्पादन र बिक्रीका आधारमा नगद अनुदान दिन थालेको हो । नगरप्रमुख सुरत केसीका अनुसार कार्यक्रमको उद्देश्य युवालाई कृषि उद्यममा आकर्षित गर्नु, वैदेशिक रोजगारीको विकल्प सिर्जना गर्नु र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनु हो ।

चालु आर्थिक वर्षमा पशुपालनतर्फ रु १२ लाख २० हजार र व्यावसायिक तरकारी खेतीतर्फ रु १३ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । पशुपालनतर्फ ६६ आवेदनमध्ये ५७ व्यावसायिक फार्म र तरकारीतर्फ ६३ आवेदनमध्ये ५९ किसान तथा कृषक समूह अनुदानका लागि छनोट भएका छन् ।

नगरपालिकाले किसानलाई लघु, साना, मझौला र व्यावसायिक गरी चार वर्गमा विभाजन गरी रु १५ हजारदेखि ४५ हजारसम्म अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । दूध, बाख्रापालन तथा तरकारी उत्पादन र बिक्रीका न्यूनतम मापदण्ड पूरा गरेका किसानले बैंक खातामार्फत सिधै अनुदान पाउने भएकाले प्रशासनिक झन्झट पनि हटेको छ ।

नगरपालिकाका अनुसार यो कार्यक्रमले उत्पादन वृद्धि, वास्तविक किसानको पहिचान, कृषि व्यवसाय विस्तार तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन उल्लेखनीय योगदान पुर्‍याएको छ । अन्य स्थानीय तहका लागि पनि यो अभ्यास अनुकरणीय बन्न सक्ने विश्वास गरिएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै