काठमाडौँ, २६ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा काठमाडौँका दुई खाद्य व्यवसायमा आकस्मिक बजार अनुगमन गरेको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन गरी सुधारका लागि निर्देशन तथा आवश्यक कारबाही गरेको हो ।
विभागका अनुसार २०८३/०४/२२ गते कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित नगर अस्पतालमा सञ्चालित खाडा देवी खाजा घरमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मेसिनजन्य परपरिकामा खाद्य पदार्थ राखेर बिक्री वितरण गरिएको, पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ भण्डारण गरिएको, स्टोरमा खाद्य पदार्थ अव्यवस्थित रूपमा राखिएको तथा कीरा नियन्त्रणको अवस्था व्यवस्थित नरहेको पाइएको थियो ।
त्यसैगरी भान्सामा भाँडा सफा गर्ने र कच्चा पदार्थ भण्डारण गर्ने कार्य एउटै स्थानमा भइरहेको समेत पाइएको विभागले जनाएको छ । अनुगमनका क्रममा मेसिनजन्य परपरिकामा राखिएको अनुमानित २०० ग्राम निम्की अस्पताल प्रशासनको रोहबरमा नष्ट गरिएको छ ।
विभागले व्यवसायीलाई देखिएका कैफियत सुधार गरी त्यसको प्रमाणसहित १५ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
यसैगरी नागार्जुन नगरपालिका–४ स्थित ए वान गुँदपाक एण्ड पुष्टकारी भण्डारमा पनि अनुगमन गरिएको थियो । गुँदपाकमा ढुसी तथा लेउ भेटिएको भन्ने गुनासोका आधारमा गरिएको अनुगमनमा त्यस्तो कैफियत भने फेला नपरेको विभागले जनाएको छ ।
तर, व्यवसायको प्याकिङ क्षेत्रमा ढोकाको जाली च्यातिएको तथा काठ भाँचिएको, सरसफाइको अवस्था सन्तोषजनक नरहेको, कच्चा पदार्थ अव्यवस्थित रूपमा भण्डारण गरिएको र कीरा नियन्त्रणको व्यवस्था प्रभावकारी नरहेको पाइएको थियो । व्यक्तिगत सरसफाइको अवस्था भने सामान्य रहेको विभागले जनाएको छ ।
विभागले खाद्य स्वच्छता कायम गर्न तथा अनुगमनका क्रममा देखिएका कैफियत तत्काल सुधार गर्न निर्देशन दिएको छ । साथै, थप अनुसन्धानका लागि गुँदपाकको नमुना संकलन गरिएको छ ।









2026-07-24-12-07-24.jpeg)






प्रतिक्रिया थप्नुहोस्