काठमाडौं, २ भदौ । काठमाडौंमा गुनासोका आधारमा गरिएको बजार अनुगमनका क्रममा एक होस्टेलको भान्सामा सरसफाइ तथा खाद्य स्वच्छतासम्बन्धी कमजोरी भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०८३ साउन २८ गते काठमाडौं महानगरपालिका क्षेत्रको राधेराधेबोइज होस्टेलमा आकस्मिक अनुगमन गरेको हो ।
अनुगमनका क्रममा भान्साको सरसफाइ सामान्य अवस्थामा रहे पनि व्यक्तिगत सरसफाइ सन्तोषजनक नभएको पाइएको छ । त्यस्तै, Exhaust को व्यवस्था प्रभावकारी नभएको, बिजुलीको प्रयोग अव्यवस्थित रहेको, भान्साकोठाको अगाडि नै शौचालय रहेको तथा भान्सामा बत्तीको उज्यालोपन कमजोर रहेको अनुगमन विवरणमा उल्लेख छ ।
होस्टेलमा फोहोर पानी खुवाएको तथा खानामा कीरा परेको र खानाको गुणस्तरसँग सम्बन्धित गुनासो आएपछि अनुगमन गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा कीरा नियन्त्रणको व्यवस्था थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।
विभागले होस्टेल सञ्चालकलाई सरसफाइमा विशेष ध्यान दिन, कीरा नियन्त्रण प्रभावकारी बनाउन, Exhaust को थप व्यवस्था गर्न तथा बिजुलीको प्रयोग व्यवस्थित गर्न निर्देशन दिएको छ । साथै, भान्साकोठा अगाडि रहेको शौचालय प्रयोग नगर्न पनि निर्देशन दिइएको छ ।
घटनाबारे थप अनुसन्धानको प्रक्रिया काठमाडौं महानगरपालिकाले अघि बढाउने भएको छ । विभागका अनुसार उक्त दिन एक वटा खाद्य व्यवसायको मात्र अनुगमन गरिएको थियो ।


2026-08-13-02-08-02.jpeg)








प्रतिक्रिया थप्नुहोस्