गुनासोपछि विभागको छापा, पानी उद्योग र रेस्टुरेन्टमा कारबाही

काठमाडौं, २१ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न मितिमा प्राप्त गुनासोको व्यवस्थापनका लागि आकस्मिक (र्‍यापिड रेस्पोन्स मोडालिटी) बजार अनुगमन सञ्चालन गर्दै दुई खाद्य व्यवसायमा कारबाही गरेको छ ।

विभागले साउन १८ गते काठमाडौंको टोखा नगरपालिका–८ स्थित एन. एस ग्रुप इन्डस्ट्रीज प्रा.लि. र काठमाडौं महानगरपालिका-२ गैरीधारास्थित लोकल थकाली रेस्टुरेन्ट एन्ड बार प्रा.लि. मा अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार आवश्यक निर्देशन र कारबाही गरेको जनाएको छ ।

टोखास्थित पानी उद्योगमा सरसफाइ सामान्य रहे पनि कुच्चिएका जार प्रयोग गरिएको, टायल टुटफुट तथा लेउ लागेको, प्रशोधित पानीले जार सफा नगरेको र प्याकेजिङअघि यूभी (UV) प्रकाशबाट शुद्धीकरण नगरिएको पाइएको विभागले जनाएको छ । यद्यपि उजुरीमा उल्लेख भएअनुसार जारको पानीमा किरा भने फेला परेको छैन ।

अनुगमनपछि उद्योगमा प्रयोग भइरहेका १२ वटा कुच्चिएका जार नष्ट गरिएको छ। साथै सरसफाइ नियमित गर्न, टुटफुट भएका टायल मर्मत गर्न तथा सुधारका कार्य पूरा गरी प्रमाणसहित विभागमा पेश गर्न निर्देशन दिइएको छ-।

त्यस्तै गैरीधारास्थित लोकल थकाली रेस्टुरेन्ट एन्ड बारमा सरसफाइ सन्तोषजनक नभएको, भान्सा र भाँडा माझ्ने स्थान एउटै रहेको, कृत्रिम खाद्य रंग प्रयोगका लागि राखिएको तथा फ्रिजमा काँचो, पकाइएका, दुग्धजन्य र मासुजन्य खाद्य पदार्थ एउटै स्थानमा राखिएको पाइएको विभागले जनाएको छ। केही खाद्य पदार्थमा पूर्ण लेबल विवरण पनि नभेटिएको छ । उजुरीमा उल्लेख भएअनुसार राम्ररी नपाकेको खाना बिक्री गरेको भने पुष्टि नभएको विभागको भनाइ छ ।

विभागले लेबल विवरण नभएका तीन प्याकेट मःम र चार प्याकेट चाउमिन नष्ट गरेको छ । साथै दुई बट्टा कृत्रिम खाद्य रंग पनि नष्ट गर्दै पकाइने खाद्य पदार्थमा कृत्रिम रंग प्रयोग नगर्न निर्देशन दिएको छ । रेस्टुरेन्टलाई भान्सा तथा भण्डारण कक्ष सुधार गरी तीन दिनभित्र प्रमाणसहित विभागमा जानकारी गराउन निर्देशन दिइएको विभागले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै