लोप्चनले घरमै सञ्चालन गरेको लोप्चन गाई फार्म तथा भार्मिङ कम्पोस्टमार्फत जैविक र गड्यौला मल उत्पादन गर्दै आउनुभएको हो । उहाँका अनुसार मलको माग बढ्दै गए पनि कतिपय समयमा मागअनुसार आपूर्ति गर्न कठिन हुने गरेको छ ।
“मेहनत गर्ने हिम्मत र हातमा सीप भए एक–दुई लाख रुपैयाँ कमाउन विदेश जानुपर्दैन”, उहाँले भन्नुभयो, “अहिले किसानहरु आफैँ मल खोज्दै आउनुहुन्छ, खुसी लाग्छ ।”
लोप्चनले २०६९ सालतिर कृषि ज्ञान केन्द्रबाट जैविक तथा गड्यौला मल उत्पादनसम्बन्धी सातदिने तालिम लिनुभएको थियो । तालिमपछि उहाँले करिब एक हजार वटा गड्यौला लिएर व्यावसायिक उत्पादन सुरु गर्नुभएको थियो । सुरुआती चरणमा भने उत्पादित मल बिक्री गर्न निकै कठिन भएको उहाँको अनुभव छ ।
त्यतिबेला स्थानीय किसानले बिरुवा तथा खेतीका लागि भारतबाट मल ल्याउने गरेको सम्झँदै उहाँले आफूले किसानलाई आफ्नो उत्पादन प्रयोग गर्न आग्रह गर्दै घरघरमै पुर्याएको बताउनुभयो । “आफ्नै गाडीमा १०–१० बोरा मल निःशुल्क खेतमा लगेर प्रयोग गर्न अनुरोध गर्थें”, उहाँले भन्नुभयो, “खेती राम्रो भएपछि किसानहरु आफैँ मल खोज्दै आउन थाले ।”
लालबन्दी आलु, प्याज, काउली र टमाटर उत्पादनका लागि परिचित क्षेत्र भएकाले विस्तारै उहाँको उत्पादनको बजार पनि बढ्दै गएको हो । अहिले उहाँले उत्पादन गरेको २५ किलोको प्याकेट जैविक तथा गड्यौला मल काठमाडौँ, ललितपुर, भक्तपुर, धनुषा, महोत्तरी, रौतहटलगायतका जिल्लाका एग्रोभेट तथा किसानसम्म पुग्ने गरेको छ ।
एउटा २५ किलोको बोराको मूल्य ३२५ रुपैयाँ रहेको छ । उत्पादन बढी भएका बेला महिनामा दुई ट्रकसम्म मल काठमाडौँ पठाउने गरेको उहाँ बताउनुहुन्छ । अहिले भने औसतमा महिनामा एक ट्रक मल पठाउने गरिएको छ । एउटा ट्रकमा करिब ४०० बोरा मल जाने गरेको उहाँको भनाइ छ ।
लोप्चनका अनुसार गमलामा फूल तथा बिरुवा लगाउनेदेखि व्यावसायिक तरकारी र अन्य अन्नबाली उत्पादन गर्ने किसानसम्म जैविक तथा गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । विशेषगरी साना बिरुवा तथा बेर्नामा रासायनिक मल प्रयोग गर्न कठिन हुने भएकाले जैविक मलको माग बढेको उहाँको भनाइ छ ।
उहाँले गड्यौला बिक्रीबाट पनि आम्दानी गर्न सकिने बताउनुभयो । एक गड्यौलाको मूल्य करिब दुई रुपैयाँ पर्ने भए पनि अहिले मल उत्पादनमा कमी नहोस् भनेर गड्यौला बिक्री गर्न छाडेको उहाँले जानकारी दिनुभयो ।
गड्यौला मल उत्पादनका लागि गाउँघर तथा वन क्षेत्रमा कुहिएर रहेका पातपतिङ्गर, पराललगायतका जैविक पदार्थ र गोबर प्रयोग गरिन्छ । उहाँका अनुसार एक ट्रेलर गोबर मलका लागि करिब तीन हजार रुपैयाँ तथा ढुवानी र मजदुर खर्च गरी थप करिब एक हजार पाँच सय रुपैयाँ खर्च हुन्छ ।
“जैविक घाँसपात र गोबर जम्मा गरेर गड्यौलालाई दिएपछि गड्यौलाले खाएर मल तयार गर्छ”, उहाँले भन्नुभयो, “गड्यौलाले तयार पारेको मल छानेर प्याकिङ गरी बजार पठाउने गरिन्छ ।”
उहाँका अनुसार यस व्यवसायमा लगानीको तुलनामा करिब ५० प्रतिशतसम्म मुनाफा लिन सकिन्छ । “यसमा दुःख पनि छ, फोहर पनि छ र मोहर पनि छ”, उहाँले भन्नुभयो ।
लोप्चनले यही व्यवसायको आम्दानीबाट आफ्ना छ सन्तानको पालनपोषण तथा शिक्षादीक्षा गर्नुभएको छ । दुई छोरालाई वैदेशिक रोजगारीमा पठाउँदा लागेको खर्चसमेत यही व्यवसायबाट जुटाएको उहाँले बताउनुभयो । अहिले पनि तीन सन्तानको पढाइ तथा लालनपालनको खर्च यही आम्दानीबाट धानिरहेको उहाँको भनाइ छ । उहाँसँगै श्रीमती र चार जना मजदुर नियमित रूपमा व्यवसायमा संलग्न छन् ।
यसअघि काठमाडौँमा किराना पसल सञ्चालन गर्दा व्यापार बिग्रिएपछि परिवारको दैनिक गुजारा चलाउनसमेत कठिन भएको लोप्चनले बताउनुभयो । त्यसपछि थोरै जग्गामा खेतीपाती गर्ने उद्देश्यले गाउँ फर्किनुभएका उहाँ किसान समूहमा आबद्ध हुनुभयो । कृषि ज्ञान केन्द्रका कर्मचारीले समूहमा आएर दिने कृषि ज्ञान र तालिमबाट प्रभावित भएर जैविक तथा गड्यौला मल उत्पादनतर्फ लाग्नुभएको उहाँको भनाइ छ ।
कृषि प्राविधिक सुरज खनालका अनुसार कम्पोष्ट तथा गड्यौला मलको प्रयोगले माटोको उर्वराशक्ति कायम राख्न तथा सुधार गर्न सहयोग पुग्छ । रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उत्पादन क्षमतामा असर पर्न सक्ने भएकाले जैविक तथा गड्यौला मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ ।
स्वदेशमै उपलब्ध जैविक स्रोतको सदुपयोग गर्दै लोप्चनले सुरु गरेको गड्यौला मल व्यवसाय अहिले परिवारको आम्दानीको मुख्य आधार बनेको छ । उहाँको अनुभवले सीप, मेहनत र बजारको पहिचान गर्न सके स्वदेशमै कृषि तथा जैविक व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने देखाएको छ । रासस
















प्रतिक्रिया थप्नुहोस्