बर्डफ्लुको प्रभाव घटेसँगै पोल्ट्री क्षेत्र पुनः लयमा फर्किन थाले, अण्डा, मासु र चल्लाको मूल्य वृद्धि

चितवन, १३ साउन । बर्डफ्लु रोगको संक्रमण नियन्त्रणमा आएपछि पोल्ट्री क्षेत्र पुनः लयमा फर्किन थालेको छ । अण्डा, कुखुराको मासु र चल्लाको माग बढ्दै जाँदा तिनको मूल्य पनि क्रमशः बढ्न थालेको व्यवसायीहरूले बताएका छन् ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि अण्डाको समर्थन मूल्य वृद्धि गरेको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार फार्महरूको उत्पादन लागत र बजार अवस्थालाई आधार बनाएर ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ५०० बाट ५३०, मिडियम अण्डा रु ४७० बाट ५००, सानो अण्डा रु २,९०० बाट ३,००० प्रति पेटी (सात क्रेट) र एक्सएल अण्डा रु ५१५ बाट ५४५ पुर्‍याइएको छ ।

उनका अनुसार बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएपछि अण्डाको खपत बढेको तर उत्पादन अझै सामान्य अवस्थामा नपुगेकाले मूल्य समायोजन गर्नुपरेको हो । संक्रमणका बेला ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ४५० सम्म झरेको थियो, जबकि किसानको लागतअनुसार प्रतिक्रेट रु ५७३.६० प्राप्त भए मात्र उत्पादन खर्च उठ्ने अवस्था रहेको उनले बताए ।

बर्डफ्लु र एच–नाइन संक्रमणका कारण झण्डै १० लाख लेयर्स कुखुरा नष्ट भएको र चैतदेखि असारसम्म दैनिक अण्डा उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा सीमित भएको सङ्घले जनाएको छ । दैनिक करिब १५ लाख अण्डा उत्पादन घट्दा किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको अध्यक्ष पोखरेलको भनाइ छ ।

यता, कुखुराको मासु र चल्लाको मूल्य पनि बढ्न थालेको छ । ह्याचरी उद्योग सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्रोइलर चल्लाको मूल्य अहिले प्रति गोटा रु ७० पुगेको छ। संक्रमणका बेला उद्योगीहरूले चल्ला रु १५ मै बिक्री गर्न बाध्य भएका थिए । हाल ब्रोइलर चल्लाको लागत रु ६५ र लेयर्स चल्लाको लागत रु १२५ रहेको छ भने लेयर्स चल्ला बजारमा रु १५० मा बिक्री भइरहेको छ ।

सातामा करिब २८ देखि ३० लाख ब्रोइलर चल्ला र एक लाख लेयर्स चल्ला उत्पादन भइरहेको छ । बर्डफ्लु फैलिनुअघि भने सातामा ४० देखि ४५ लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेको थियो ।

कुखुराको मासु बिक्री पनि विस्तारै बढ्न थालेको छ। संक्रमणअघि दैनिक नौ लाख किलो बिक्री हुने मासु बर्डफ्लुका कारण पाँच लाख किलोमा झरेको थियो । अहिले दैनिक बिक्री बढेर सात लाख किलो पुगेको छ । किसानले जिउँदो ब्रोइलर कुखुरा प्रतिकिलो रु १५० सम्ममा बेच्नुपरेको अवस्था अहिले सुधार भई रु २१५ पुगेको लामिछानेले जानकारी दिए । उनले बर्डफ्लुबाट पोल्ट्री क्षेत्रमा अर्बौँ रुपैयाँ बराबरको क्षति भएको पनि बताए ।

पशु सेवा विभागका अनुसार साउन १ गतेयता नेपालमा बर्डफ्लुको नयाँ संक्रमण पुष्टि भएको छैन । पछिल्लोपटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा संक्रमण देखिएको थियो । विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार संक्रमण नियन्त्रणका क्रममा देशभर ८ लाख ३५ हजार ५६३ वटा पन्छी, ११ लाख ६५ हजार ६६३ वटा अण्डा र २ लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ। काठमाडौं उपत्यका र काभ्रेमा मात्रै ३ लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको विभागले जनाएको छ ।

पोल्ट्री व्यवसायीहरूले बर्डफ्लु नियन्त्रणमा आएसँगै बजारमा विश्वास बढ्दै गएको र आगामी दिनमा उत्पादन तथा कारोबार थप सुधार हुने अपेक्षा गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै