माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बिक्रीबाट रु तीन लाख १५ हजार आम्दानी गरेका थिए। उनले पाँच रोपनी क्षेत्रफलमा अदुवाखेती गरी ९० मन उत्पादन गरेका थिए । उत्पादित अदुवामध्ये २० मन बीउका लागि राखेर बाँकी अदुवा प्रतिमन रु चार हजार ५००का दरले बिक्री गरेका थिए ।
गत वर्षको मूल्य र उत्पादनबाट उत्साहित लिम्बूले यस वर्ष पनि २० मन बीउ रोपेका छन् । यसपटक करिब १२० मन अदुवा उत्पादन गर्ने लक्ष्य राखेका उनले गत वर्षकै हाराहारीमा मूल्य पाए रु पाँच लाखभन्दा बढी आम्दानी गर्ने अपेक्षा गरेका छन् ।
माङसेबुङ–२ कै किसान राजकुमार राईले गत वर्ष ५० मन अदुवा बिक्री गरेर रु दुई लाखभन्दा बढी आम्दानी गरेका थिए । यस वर्ष उनले २० मन बीउ रोपेका छन् । अदुवाबाट हुने आम्दानीले परिवारको घरखर्च तथा छोराछोरीको पढाइ खर्च धान्दै आएका राईले यस वर्ष खेती विस्तार गरेकाले आगामी वर्षदेखि केही रकम बचत गर्न सकिने अपेक्षा गरेका छन् ।
माङसेबुङ-३ का किसान तेजु राईले पनि यस वर्ष ६० मन अदुवा रोपेका छन् । उनले १० रोपनीमा व्यावसायिक अदुवाखेती सुरु गरेका हुन् । किसानमा अदुवाखेतीप्रति आकर्षण बढेपछि आफू पनि व्यावसायिक उत्पादनमा लागेको उनले बताए । आकर्षक आम्दानी हुन थालेपछि धानलगायत अन्य बाली छाडेर किसान अदुवाखेतीतर्फ लाग्न थालेको उनको भनाइ छ ।
उत्पादनको समयमा प्रतिमन रु चार हजार ५०० सम्म पुगेको अदुवाको मूल्य अहिले माउ अदुवामा अझ बढेको छ । हाल माउ अदुवा प्रतिमन रु सात हजारसम्म पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । माउ अदुवा झापाको धुलाबारीमा प्रतिमन रु सात हजारसम्म कारोबार भइरहेको छ भने इलाममा करिब रु छ हजारमा किनबेच भइरहेको स्थानीय व्यापारी राम जवेगूले बताए ।
माउ र बच्चा अदुवाको छुट्टाछुट्टै मूल्य पाइने भएकाले किसानलाई अदुवाखेतीबाट दोहोरो फाइदा हुने व्यापारी जवेगूको भनाइ छ ।
इलामका किसानले ठूलो (भैँसे), मझौला र सानो गरी तीन प्रकारका अदुवाखेती गर्दै आएका छन् । भदौसम्म माउ अदुवा बिक्री हुने भए पनि अदुवाको मुख्य उत्पादन तथा बिक्रीको समय कात्तिकदेखि जेठसम्म रहने गरेको छ ।
इलाम बजारसँगै बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानाबारी र हर्कटेललगायतका बजारमा जिल्लामा उत्पादित अदुवा खपत हुने गरेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार इलाममा हाल तीन हजार २२१ हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवाखेती हुँदै आएको छ । गत वर्ष जिल्लामा ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको थियो । अदुवाको मूल्यमा देखिएको आकर्षणसँगै यस वर्ष खेतीको क्षेत्रफल र उत्पादन अझ बढ्ने अपेक्षा गरिएको छ ।








2026-07-24-12-07-24.jpeg)







प्रतिक्रिया थप्नुहोस्