काठमाडौँमा खाद्य व्यवसाय अनुगमन : म्याद गुज्रिएका खाद्यवस्तु नष्टदेखि स्वच्छता सुधारको निर्देशन

काठमाडौँ, २७ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिका–१०, बुद्धनगरमा सञ्चालनमा रहेका चार खाद्य व्यवसायको अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सुधारका लागि निर्देशन दिएको छ ।

विभागले काठमाडौँ महानगरपालिकासहितको बजार अनुगमन टोली परिचालन गरी मिति २०८३/०४/२६ गते गरेको अनुगमनका क्रममा विभिन्न खाद्य व्यवसायमा सरसफाइ, खाद्य भण्डारण, कीट नियन्त्रण तथा खाद्य सामग्रीको म्यादलगायतका विषयमा कमजोरी भेटिएको जनाएको छ ।

अनुगमनका क्रममा स्नेहा खाजा घरमा पुरानो चपिङ बोर्ड प्रयोग गरिएको, फोहोरदानी खुला राखिएको, भान्साको झ्यालमा जाली नभएको, फ्रिजमा खाद्य पदार्थ नछोपी राखिएको तथा कीट नियन्त्रण र सरसफाइ सन्तोषजनक नरहेको पाइएको थियो । विभागले भान्सा पूर्ण रूपमा सफा राख्न, नयाँ चपिङ बोर्ड प्रयोग गर्न, झ्यालमा जाली राख्न, ढक्कन भएको फोहोरदानी प्रयोग गर्न तथा फ्रिजमा खाद्य पदार्थ छोपेर राख्न निर्देशन दिएको छ ।

त्यस्तै, Ko-Fee Tales मा उपभोग्य मिति समाप्त भएको एक थान ह्विपिङ क्रिम, एक थान फ्लेभर्ड सिरप र एक थान टिमुरको छोप फेला परेको थियो । ती सामग्री नष्ट गर्नुका साथै खाद्य स्वच्छता कायम गर्न, फ्रिजमा खाद्य पदार्थ छोपेर राख्न र नियमित कीट नियन्त्रण गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

लुम्बिनी खाजा घरमा सरसफाइ सन्तोषजनक नरहेको तथा फ्रिजमा पकाएको र नपकाएको खाद्य पदार्थ अव्यवस्थित रूपमा सँगै राखिएको पाइएको थियो । व्यवसायीलाई नियमित सरसफाइ गर्न, ढक्कन भएको फोहोरदानी प्रयोग गर्न तथा खाद्य पदार्थ व्यवस्थित रूपमा भण्डारण गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी, सृजना खाजा घरमा सरसफाइ कमजोर रहेको, कीट नियन्त्रण व्यवस्थित नभएको तथा बस्ने कोठामै खाजा तयार गर्ने गरेको पाइएको थियो । विभागले खाद्य स्वच्छता कायम गरी व्यवसाय सञ्चालन गर्न, बस्ने कोठामा खाजा तयार नगर्न, पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ बिक्री तथा प्रयोग नगर्न र पकाइने खाद्य पदार्थमा कृत्रिम रङ प्रयोग नगर्न निर्देशन दिएको छ ।

विभागले खाद्य व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना गरी उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउन आग्रह गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै