इलाम, २८ जेठ । फाकफोकथुम गाउँपालिका-५ लुम्देका महेन्द्र घिमिरे अहिले सफल पोल्ट्री व्यवसायीका रूपमा परिचित छन् । वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै सुरु गरेको कुखुरापालन व्यवसायले उनलाई आत्मनिर्भर बनाएको छ भने स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ ।
हरेक बिहान उनी कुखुराको खोर सफा गर्ने, दाना-पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा मासु तयारी गर्ने र बजार पठाउने काममा व्यस्त हुन्छन् । उनले सञ्चालन गरेको ‘नवमी पोल्ट्री फार्म एन्ड फ्रेस हाउस’ स्थानीय बजारमा कुखुराको मासु उत्पादन तथा बिक्रीको भरपर्दो केन्द्र बनेको छ ।
वि.सं. २०६७ मा वैदेशिक रोजगारीका लागि विदेश गएका घिमिरे पाँच वर्षपछि २०७१ मा गाउँ फर्किएका थिए । विदेशबाट फर्किएपछि कुन व्यवसाय गर्ने भन्ने अन्योलका बीच उनले २०७२ सालदेखि कुखुरापालन व्यवसाय सुरु गरेका हुन् ।
व्यवसायको सुरुआती चरण सहज भने थिएन। गाउँमा नियमित विद्युत् सुविधा नहुँदा उनले सोलार प्यानलको सहारामा चल्ला पालनको प्रयास गरे । तर आवश्यक तापक्रम कायम गर्न नसक्दा क्षति व्यहोर्नुपरेको थियो। त्यसपछि अनुभव बटुल्दै उनले चल्ला हुर्काएर बिक्री गर्ने कामलाई विस्तार गर्दै व्यवसायलाई व्यवस्थित बनाएका हुन् ।
हाल उनको फार्ममा करिब २०० वटा बिक्रीयोग्य कुखुरा र २५० वटा चल्ला छन् । जिउँदो कुखुरा प्रतिकिलो ४०० रुपैयाँ र काटेको मासु प्रतिकिलो ५०० रुपैयाँमा बिक्री हुने गरेको छ भने होलसेलमा प्रतिकिलो ३०० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनी बताउँछन्। उत्पादित कुखुरा पाँचथरको रवि र झापाको दमकसम्म पुग्ने गरेको छ । “सुरुमा धेरै समस्या आए तर हार मानिनँ,” घिमिरेले भने, “कुखुरापालनमा नगद कारोबार प्रत्यक्ष हुने भएकाले छोटो समयमै आम्दानी देख्न सकिन्छ ।”
उनका अनुसार लुम्दे क्षेत्र सदरमुकामबाट टाढा भएकाले चल्ला ल्याउन तथा उत्पादन बजारसम्म पुर्याउन ढुवानी चुनौती कायमै छ। यसले उत्पादन लागत बढाउने गरेको छ ।घिमिरेको व्यवसाय विस्तारमा सरकारी सहयोगले पनि महत्वपूर्ण भूमिका खेलेको छ । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले फाकफोकथुम गाउँपालिका, अन्य दुई स्थानीय तह र दायित्व संस्थासँगको साझेदारीमा सञ्चालन गरेको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनामार्फत उनले तालिम, आर्थिक अनुदान तथा आवश्यक सामग्री प्राप्त गरेका छन् ।
प्राप्त अनुदानबाट उनले फ्रिज, खानेपानीका पाइप तथा कुखुरापालनका लागि आवश्यक अन्य सामग्री व्यवस्थापन गरेका छन्। साथै, परियोजनाले अन्य व्यवसायीसँग अनुभव आदानप्रदान गर्ने अवसरसमेत उपलब्ध गराएको उनको भनाइ छ । “व्यावसायिक योजना बनाउन सहज भयो। अहिले नयाँ भवन निर्माणको तयारीमा छु,” उनले भने ।
घिमिरेको फार्मले परिवारका दुई सदस्यलाई प्रत्यक्ष रोजगारी दिएको छ भने सरसफाइ तथा अन्य काममा स्थानीयवासीले पनि अवसर पाएका छन् । वार्षिक करिब आठ लाख रुपैयाँ आम्दानी हुने यो व्यवसाय गाउँमै बसेर आत्मनिर्भर बन्न सकिने उदाहरण बनेको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले बताए ।
“सीमित स्रोत, यातायातको समस्या र प्रारम्भिक असफलताबीच उहाँले देखाएको लगनशीलता गाउँमै उद्यम गर्न चाहने युवाका लागि प्रेरणादायी छ,” अध्यक्ष खनालले भने, “यस्ता उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।”















प्रतिक्रिया थप्नुहोस्