डेरी उद्योगमा अनियमितता भेटिएपछि खाद्य विभागद्वारा सुधारका लागि निर्देशन

भक्तपुर, १५ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरका दुई डेरी उद्योगमा गरेको अनुगमनका क्रममा खाद्य अनुमति, सरसफाइ तथा उत्पादन व्यवस्थापनमा विभिन्न कमजोरी भेटिएपछि सुधारका लागि निर्देशन दिएको छ ।

चाँगुनारायण नगरपालिका-५ स्थित खरिपाटी डेरी प्रालिमा कामदारको व्यक्तिगत सरसफाइ सन्तोषजनक नभएको, प्रशोधन कक्षमै प्रयोगशालाका सामग्री राखिएको, फुट डिप प्रयोग नगरेको तथा दही र बटर उत्पादनका लागि आवश्यक खाद्य अनुमति नलिएको पाइएको विभागले जनाएको छ ।

अनुगमन टोलीले प्रशोधन कक्षबाट प्रयोगशालाका सामग्री हटाउन, दही र बटर उत्पादनअघि आवश्यक खाद्य अनुमति लिन तथा कामदारले हेयरनेट, ग्लोभ्स र मास्क अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ। साथै प्रशोधित दूधको गुणस्तर परीक्षणका लागि नमुना समेत संकलन गरिएको छ ।

यस्तै, चाँगुनारायण-७ स्थित साँजु डेरी प्रालिमा पनिर, दही र बटर उत्पादनका लागि खाद्य अनुमति नलिएको, बटर चर्नरको मोटरमा खिया लागेको, दही प्रशोधन तथा प्याकेजिङ कक्ष खुला रहेको र कच्चा दूधमा मिसावट परीक्षण गरिएको अभिलेख नराखिएको पाइएको छ ।

विभागले उद्योगलाई तत्काल आवश्यक खाद्य अनुमति लिन, दही प्रशोधन कक्ष पूर्ण रूपमा बन्द रहने व्यवस्था मिलाउन तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएको छ । उद्योगबाट प्रशोधित दूधको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको विभागले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराउने उद्देश्यले यस्ता अनुगमनलाई नियमित रूपमा निरन्तरता दिने जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै