संयुक्त बजार अनुगमनमा तीन खाद्य व्यवसायमा निरीक्षण, परीक्षणका लागि नमुना संकलन

काठमाडौं, २२ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं महानगरपालिकासहितको बजार अनुगमन टोलीमार्फत आकस्मिक निरीक्षण गर्दा तीन खाद्य व्यवसायमा विभिन्न कमजोरी फेला पारेको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सम्बन्धित व्यवसायलाई सुधार तथा स्वच्छता कायम गर्न निर्देशन दिएको छ ।

विभागले साउन २० गते गरेको अनुगमनमा त्रिभुवन विश्वविद्यालयस्थित कान्ति छात्रावासमा सुदूरपश्चिम चमेना गृहद्वारा सञ्चालित क्यान्टिन, कीर्तिपुर-९ नगाउँस्थित मेगा मार्ट प्रा.लि. र त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोरको निरीक्षण गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको कान्ति छात्रावासमा सञ्चालित चमेना गृहको भान्सा तथा भाँडा माझ्ने स्थान फोहोर रहेको, पकाइएको खाना खुला अवस्थामा राखिएको तथा खाद्य स्वच्छता कायम हुने गरी कच्चा पदार्थ भण्डारण नगरिएको पाइएको विभागले जनाएको छ । यद्यपि उजुरीमा उल्लेख भएअनुसार चमेना गृहको भण्डारण स्थलमा सोडा तथा कमसल कच्चा पदार्थ भने फेला नपरेको विभागले स्पष्ट पारेको छ ।

अनुगमनका क्रममा देखिएका कमजोरी सात दिनभित्र सुधार गरी विभागलाई जानकारी गराउन चमेना गृहलाई निर्देशन दिइएको छ ।

त्यस्तै कीर्तिपुर-९ नगाउँस्थित मेगा मार्टले Himalayan Eggs and Meat Pvt. Ltd. र Subis Poultry Market Pvt. Ltd. बाट अण्डा खरिद गरी बिक्री–वितरण गर्दै आएको पाइएको छ । अण्डा फुटाएर परीक्षण गर्दा त्यसमा प्लास्टिक वा कृत्रिम पदार्थ नभएको विभागले जनाएको छ । मार्टलाई स्वच्छता तथा सरसफाइ कायम गर्न निर्देशन दिइएको छ ।

यसैगरी त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोरमा सरसफाइको अवस्था सामान्य रहेको पाइएको छ । थप अनुसन्धान तथा परीक्षणका लागि त्यहाँबाट खाद्य पदार्थको नमुना संकलन गरी प्रयोगशालामा पठाइएको विभागले जनाएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै