काठमाडौं । 7up ब्रान्डको हल्का पेय पदार्थमा बाह्य पदार्थ भेटिएको गुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित ब्याचको उत्पादन तथा बिक्री–वितरणमा तत्काल रोक लगाएको छ ।
विभागका अनुसार साउन ७ गते प्राप्त उजुरीको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा प्रहरी प्रभाग काँडाघारीको संयुक्त टोलीले काठमाडौं–३२, पेप्सीकोलास्थित वरुण बेभरेज (नेपाल) प्रा.लि. मा आकस्मिक बजार अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा ब्याच नम्बर B006 तथा उत्पादन मिति १६ अप्रिल २०२६ भएको 7up Sweetened Carbonated Water मा बाह्य पदार्थ भेटिएको भन्ने उजुरीको सम्बन्धमा सोही ब्याचका दुईवटा नियन्त्रण नमुना संकलन गरिएको विभागले जनाएको छ ।
स्थलगत निरीक्षणका क्रममा उद्योगमा २५० मिलिलिटर क्षमताको 7up उत्पादन भइरहेको पाइएको थियो। उद्योगमा ७ चरणको बोतल धुने (Bottle Washing) प्रणाली, बोतल भर्नेअघि ४ चरणको लाइट चेकिङ प्रणाली तथा फिलिङपछि मेटल डिटेक्टर र अन्तिम लाइट निरीक्षण प्रणाली सञ्चालनमा रहेको पनि अनुगमन टोलीले जनाएको छ । निरीक्षणका क्रममा उद्योगको प्रशोधन तथा भण्डारण क्षेत्रमा बाह्य पदार्थ भएको 7up बोतल भने फेला परेको थिएन ।
यद्यपि, विभागले थप परीक्षण र अनुसन्धान पूरा नहुँदासम्म ब्याच नम्बर B006 को नमुना संकलन गरी 7up को उत्पादन तथा उक्त ब्याचको बिक्री–वितरण तत्काल रोक्न निर्देशन दिएको छ । साथै, उद्योगलाई सो सम्बन्धी विवरण विभागमा लिखित रूपमा पेश गर्न पनि निर्देशन दिइएको छ ।










प्रतिक्रिया थप्नुहोस्