काठमाडौँ, २९ असार । देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै आज विभिन्न प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही माथि नेपालका तराई क्षेत्र नजिक अवस्थित छ । यसको प्रभावका कारण देशका अधिकांश स्थानमा बादल लागेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। यी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
रातिको समयमा पनि मौसममा खासै सुधार नआउने विभागको अनुमान छ । कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा जारी रहनेछ । विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भने पहाडी भूभागका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
विभागले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, बाढी, पहिरो, भू–क्षय तथा गेग्रान बहावको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । रासस










प्रतिक्रिया थप्नुहोस्