रुपन्देही, १९ असोज । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले लुम्बिनी प्रदेशका विभिन्न कृषि तथा वन क्षेत्रको स्थलगत अनुगमन गर्दै कृषकका समस्या र सुझाव लिएकी छन् ।
असोज १५ देखि १८ गतेसम्म गरिएको अनुगमनका क्रममा मन्त्री चौधरीले कृषि उत्पादन, मलखाद, सिँचाइ, कृषि विद्युतीकरण, कृषि सडक, बीमा तथा बजारीकरणको अवस्थाबारे जानकारी लिएकी हुन् ।
.jpg)
अनुगमनकै क्रममा उनले रुपन्देहीको मर्चवार क्षेत्रअन्तर्गत मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाका विभिन्न कृषि क्षेत्रको निरीक्षण गरिन् । सम्मरीमाई–६ स्थित कृषि उपज सामग्री सङ्कलन केन्द्र, मर्चवारीमाई-१ मा करिब ५० बिघा क्षेत्रफलमा गरिएको केराखेती तथा कोटहीमाई-५ स्थित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको अवस्थाबारे उनले जानकारी लिइन् ।

असोज ८ देखि ११ गतेसम्म आएको हावाहुरी तथा वर्षाका कारण केराखेतीमा पुगेको क्षतिबारे पनि मन्त्री चौधरीले कृषकसँग छलफल गरिन् । त्यस क्रममा कृषकले उत्पादनको उचित मूल्य नपाएको, केराको बजारीकरणमा समस्या रहेको र कृषि बीमाको दाबी भुक्तानी प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए । कृषकले कृषि विद्युतीकरण विस्तारसँगै कृषि सडक निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकता दिन पनि माग गरेका छन् ।
.jpg)
कृषकका समस्या प्रत्यक्ष रूपमा बुझेर समाधानका लागि आवश्यक पहल गर्ने मन्त्री चौधरीले बताइन् । कृषि क्षेत्रको दिगो विकासका लागि सरकार, स्थानीय तह, कृषक र सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
















प्रतिक्रिया थप्नुहोस्