आगामी तीन दिन भारी वर्षाको चेतावनी, साना नदीमा बाढीको उच्च जोखिम

काठमाडौँ, १८ साउन । आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा वर्षासँगै भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार आज देशका पहाडी भूभागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

विभागका प्रवक्ता विभूति पोखरेलले विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको र केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा मापन भएको जानकारी दिए ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।

मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

विभागले आगामी तीन दिन वर्षाको गतिविधि बढ्ने भएकाले विशेषगरी सुन्तला रङले चिन्हित जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

साना नदीमा बाढीको जोखिम

बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम रहेको जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहनेछ ।

यस्तै ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम) लगायतका जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ ।

विभागले उच्च जोखिम भएका क्षेत्रमा नदी किनार, होचा भूभाग तथा खोलानाला आसपास बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन, आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना र पूर्वसूचना नियमित रूपमा पालना गर्न अनुरोध गरेको छ ।

मध्यम जोखिम रहेका जिल्लाका बासिन्दालाई पनि नदी किनारमा अनावश्यक आवतजावत नगर्न, यात्रा गर्दा सावधानी अपनाउन र सम्भावित जोखिमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिँदै सुरक्षित रहन विभागले आग्रह गरेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै