काठमाडौँ, २९ चैत । देशभर हाल कमजोर पश्चिमी न्यून चापीय प्रणालीको प्रभावसँगै स्थानीय वायुको असर देखिएको छ, जसका कारण विभिन्न क्षेत्रमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल पहाडी र हिमाली भेगमा आंशिक बदलीको अवस्था रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो हिमाली क्षेत्रमा बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।
विशेषगरी कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र बागमती तथा गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
रातिको समयमा पनि हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराईका अधिकांश भागमा मौसम सफा रहने जनाइएको छ । यद्यपि, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ ।
मौसमको यस अवस्थालाई मध्यनजर गर्दै प्रभावित हुन सक्ने क्षेत्रका सर्वसाधारण, यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।










प्रतिक्रिया थप्नुहोस्