काठमाडौं, ४ साउन । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स-साना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।
यस्तै झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला आसपासका स-साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ ।
विभागका बाढीविद् बिनोद पराजुलीले नदी तटीय क्षेत्र र खोला आसपास बसोबास गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
उनका अनुसार नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले यस्तो अवस्थामा नदी तर्न, माछा मार्न, नदीजन्य सामग्री उत्खनन गर्न तथा नदी किनारमा बस्न वा आवतजावत गर्न नहुने चेतावनी दिइएको छ ।
विभागले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पनि सम्भावित आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी, उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ । रासस










प्रतिक्रिया थप्नुहोस्