गाजर खेती र तीनका जातहरु
नान्टीस फोर्ट :- यो जातको जराको भित्री र बाहिरी भाग सुन्तला रङ्गको हुन्छ । आकार एकैनासको चिल्लो हुनुका साथै टुप्पो बोदो हुन्छ । यसको जरा १५-२० से.मी. लामो हुन्छ । यसका पातहरु गाढा हरियो रङ्गका र ठाडो परेका हुन्छन् । नेपालमा तराई, मध्य पहाड तथा उच्च पहाडमा यो जातको खेती गर्न सिफारिस गरिएको छ ।
न्यू कुरोदा :- यो नेपालमा निकै लोकप्रिय खुला सेचित जात हो । गाढा सुन्तला रङ्गको जरा हुन्छ । जरा मोटा तर केही छोटा हुन्छन् । लम्बाई १२-१५ से.मी. हुन्छ । पातहरु गाढा हरिया रङ्गका तथा ठाडो परेका हुन्छन् । नेपालमा तराई, मध्य पहाड तथा उच्च पहाडमा यो जातको खेती गर्न सिफारिस गरिएको छ ।
कुरोदा मार्क F1 :- यो बर्णशङ्कर जात हो । बिउ रोपेको ५०-६० दिनमा बाली तयार हुन्छ । यसको जरा हल्का सुन्तला रङ्गको, चिल्लो र एकनासको हुन्छ । नेपालमा तराई र मध्य पहाडमा यो जातको खेती गर्न सिफारिस गरिएको छ ।
नेपा ड्रिम :- यो वर्णशंकर जात हो । पहेलो रङ्गको चिल्लो जरा भएको यो जात सारै मिठो र गुलियो छ । गाजर उखेल्दा माटो नटाँसिने, पानीमा सफा गर्दा एक पटक डुबाएपछि पनि सफा देखिने, माथि मोटो र तल अलि सानो सुलुक्क परेको देख्दा आकर्षक भएकोले किसानले पनि निकै मन पराएका छन् । नेपालमा तराई तथा पहाडमा यो जातको खेती गर्न सिफारिस गरिएको छ ।
हावापानी र माटो
गाजर हिउँदे तरकारीबाली हो । यसले चिसो तथा तुसारो सहन सक्छ । गाजरको बोटको तथा जराको वृद्धि र विकासको लागि १५ देखि २० डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ । माटोमा प्रसस्त चिस्यान र उचित प्रकाश भएमा जराको विकास राम्रा हुन्छ । तापक्रम ज्यादा भएमा गाजरका जरा हॉगिने र फ्दन हुन्छ । तापक्रम कम भएमा जराका वृद्धि कम हुन्छ । नेपालमा तराईदेखि उच्च पहाडसम्म गाजरको खेती गर्न सकिन्छ ।
पानी नजम्ने, गहिरो, खुकुलो र प्रसस्त प्राङ्गारिक पदार्थ भएको बलौट दोमट माटोमा गाजर खेती राम्रो हुन्छ । गह्रौ तथा चिम्ट्याईलो माटोमा गाजरको जराको राम्रो विकास हुन सक्दैन । माटोको पी.एच. मान ६.५ देखि ७.५ हुनु राम्रो मानिन्छ ।
रोप्ने समय
उच्च पहाड:- चैत्र-जेष्ठ
मध्य पहाड:- भाद्र-मङ्सिर
तराई तथा खोंच/बेसी:- आश्विन-कार्तिक
बिउदर
२००-३०० ग्राम बिउ प्रति रोपनी (४-६ केजी बिउ प्रति हेक्टर)
रोप्ने दुरी
३० सेमी x ५ सेमी (लाईन-लाईन x बोट-बोट)
(बिउ रोप्दा एक रात भिजाई छायाँमा सुकाएको बिउलाई बराबर मात्रामा मसिनो बालुवा वा खरानी मिसाई लाईनमा निरन्तर वा ५ सेमीको फरकमा २-३ सेमी गहिराईमा रोप्ने)
मलखाद
गाजर खेतीका लागि निम्नानुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।
मलखादको मात्रा:- २००:१८०:८० केजी नाःफःपो प्रति हेक्टर
| मलखादको नाम | प्रति हेक्टर | प्रति कठ्ठा | प्रति हेक्टर |
| गोठेमल वा कम्पोष्ट | १ टन | ०.७ टन | २० टन |
| युरिया | १४ केजी | ९ केजी | २८० केजी |
| डिएपी | २० केजी | १३ केजी | ३९० केजी |
| म्युरेट अफ पोटास | ७ के.जी. | ५ केजी | १३५ केजी |
नाइट्रोजन मलको आधा भाग र अन्य सबै मलखाद जमिन तयारी गर्नेबेलामा प्रयोग गर्नुपर्दछ । बाँकी नाइट्रोजनलाई आधा आधा गरेर बिउ रोपेको ३० दिन र ५० दिन पश्चात टपड्रेस गर्नु उपयुक्त हुन्छ।
गोडमेल र सिँचाई
गाजर अलि ढिलो गरी उम्रने हुनाले सँगसँगै झारपात पनि उम्मेर सताउँछन । त्यसैले निरन्तर झारपात नियन्त्रण गरी बारी सफा राख्नु आवश्यक हुन्छ । गाजर उमेर बिरुवा ४/५ पाते भएपछि ५ सेमिको फरकमा मात्र बेर्ना रहने गरी बाँकी बेर्ना बेड्याई हटाउनुपर्दछ । बिउ रोपेको ३० दिनपछि लाईनको बिचमा हलुका कुलेसो बनाई नाईट्रोजन मलको पहिलो टपड्रेस गर्नुपर्दछ । त्यस्तै दोस्रो टपड्रेस बिउ रोपेको ५० देखि ५५ दिनपछि गर्नुपर्दछ ।
गाजरको बिउ रोपेपछि नउनेसम्म नियमित सिँचाई गर्नुपर्दछ । त्यस पश्चात मौसम, माटोको किसिम र बालीको अवस्था हेरी ७ देखि १० दिनको फरकमा सिँचाई गर्नुपर्दछ तर पानी जम्न दिनुहुँदैन । खेतीमा उपयुक्त सिँचाई भएमा जरा छिटो बढ्ने, नरम र रसिलो हुने हुन्छ तर ज्यादा पानी भएमा जरा कुहिने रोगको प्रकोप बढ्दछ ।
उत्पादन
सामान्यतया बिउ रोपेको ३ देखि ४ महिनामा जरा खानयोग्य हुन्छ । धेरै छिटो वा ढिलो गरी बाली भित्र्याएमा जराको उत्पादन तथा गुणस्तर दुवै घट्न जान्छ । औसतमा १५०० केजी प्रति रोपनी वा ३० टन प्रति हेक्टर सम्म गाजरको उत्पादन लिन सकिन्छ ।
नेपाल कृषि अनुसन्धान परिषद्











प्रतिक्रिया थप्नुहोस्