काठमाडौं, ३ साउन । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने साना नदी तथा खोलामा आकस्मिक बाढी आउने जोखिम रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर लगायत आसपासका क्षेत्रमा साना नदी र खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ ।
विभागले ती क्षेत्रमा नदी किनार तथा तटीय बस्तीमा बसोबास गर्ने नागरिक, यात्रु र सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यद्यपि कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर हाल जोखिम रेखाभन्दा तल रहेको विभागले जनाएको छ ।
विभागले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न र आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ । रासस










प्रतिक्रिया थप्नुहोस्