काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र डिभिजन कार्यालय काठमाडौंको संयुक्त टोलीले काठमाडौंका विभिन्न खाद्य व्यवसायमा अनुगमन गर्दा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विभिन्न कैफियत भेटिएको छ ।
टोलीले असोज १३ र १४ गते कलंकी, चन्द्रागिरी र गोकर्णेश्वर क्षेत्रका खाद्य व्यवसायमा अनुगमन गरेको हो । अनुगमनका क्रममा सरसफाइ, खाद्य पदार्थको भण्डारण, किट नियन्त्रण, कृत्रिम खाद्य रंगको प्रयोग, लेबल तथा अनुमतिपत्र र म्याद गुज्रिएका खाद्य वस्तुसम्बन्धी समस्या भेटिएको विभागले जनाएको छ ।
कलंकीस्थित देवयानी इन्टरनेशनल नेपाल प्रालि. मा भान्साको सरसफाइ सन्तोषजनक पाइएको थियो । साकाहारी खानेकुरा तार्न प्रयोग भएको तेलको TPM value १५.५ र मांसाहारी खानेकुरा तार्न प्रयोग भएको तेलको TPM value १८ रहेको पाइएको थियो । विभागले फ्रिज तथा चिलरको तापक्रम क्यालिब्रेसन गर्न र तेलको प्रयोग नियमनका लागि SOP बनाएर लागू गर्न निर्देशन दिएको छ ।
दाजुभाइ स्वीट्स मा सरसफाइ सन्तोषजनक नरहेको, फ्रिजमा खाद्य पदार्थ अव्यवस्थित रूपमा राखिएको र कृत्रिम रंगको प्रयोग गरिएको भेटिएको छ । सरसफाइमा ध्यान दिन तथा पकाएर खाने खाद्य पदार्थमा कृत्रिम रंग प्रयोग नगर्न निर्देशन दिइएको छ ।
फ्रेन्डसिप ड्रिकिङ वाटर प्रालि. मा प्रशोधन कक्षका पाइपमा लिकेज देखिनुका साथै कुच्चिएका, कोत्रिएका तथा टुटेफुटेका जार पुनः प्रयोग गरिएको भेटिएको थियो । त्यस्ता १० थान जार नष्ट गरिएको छ । पानीको जारको नमुनासमेत संकलन गरिएको विभागले जनाएको छ ।
राधे राधे स्वीट्स मा किचनको फोहोरदानी खुला राखिएको, परिजीवी नियन्त्रण व्यवस्थित नभएको, खरिद तथा बिक्री बिल व्यवस्थित नभएको र फ्रिजमा काँचो तथा पाकेको खाद्य पदार्थ एकै ठाउँमा राखिएको भेटिएको थियो । अनुमति नलिएको उद्योगबाट मिठाई खरिद गरी बिक्रीमा राखिएको समेत पाइएको छ ।
त्यहाँ कृत्रिम खाद्य रंग प्रयोग गरी बनाइएको जेरी ६ केजी, चप १५ पिस र पकौडा ४ प्लेट नष्ट गरिएको छ । प्रिन्ट गरिएको कागजमा खाद्य पदार्थ बिक्री गर्ने गरेको र प्रयोग भइरहेको सिन्थेटिक फुड कलर २ डिब्बा समेत नष्ट गरिएको विभागले जनाएको छ ।
आस्था ग्रोसरी स्टोर मा अनुमतिपत्र नम्बर उल्लेख नभएका खाद्य वस्तु तथा लेबल विवरण नभएको बदाम २० थान भेटिएको थियो । म्याद गुज्रिएको तिलटिमुर अचार २ थान समेत फेला परेपछि नष्ट गरिएको छ ।
आस्का मिनिमार्ट मा अनुमतिपत्र नम्बर उल्लेख नभएका खाद्य वस्तु बिक्रीमा राखिएको र म्याद गुज्रिएको भेज बर्गर प्याटी १ थान भेटिएको थियो । प्याटी नष्ट गरिएको छ ।
रिद्धि किराना स्टोर मा अनुमतिपत्र नम्बर उल्लेख नभएका चुक अमिलो ३ थान, ड्राई मिट २५ थान र स्टिक नुडल्स १२ थान जफत गरिएको छ ।
त्यस्तै, सृष्टि स्वीट्स एन्ड छात हाउस मा खाद्य पदार्थ बनाउन तयार गरिएको पिठोको झोलमा किरा भेटिएको तथा कृत्रिम रंग प्रयोग गरिएको पाइएको थियो । किरा भेटिएको पिठोको झोल र कृत्रिम रंग प्रयोग गरी बनाइएको पकौडा करिब १ केजी तथा जेरी करिब २ केजी नष्ट गरिएको छ ।
ओम शंकर ट्रेड्स मा सरसफाइ, किट नियन्त्रण र भण्डारणमा समस्या देखिनुका साथै अनुमतिपत्र नम्बर उल्लेख नभएका खाद्य वस्तु बिक्रीमा राखिएको भेटिएको थियो । पुष्टकारी ११ थान र स्टिक चाउमिन ४ थान जफत गरिएको छ । मुसाले संक्रमित स्टिक चाउमिन १ थान नष्ट गरिएको विभागले जनाएको छ ।
चन्द्रागिरी–६ चेकपोस्ट र चन्द्रागिरी–११ सतुंगलस्थित मेगा मार्टका दुई शाखा मा भने सरसफाइ, भण्डारण र किट नियन्त्रणको अवस्था सन्तोषजनक पाइएको थियो ।
विभागले कैफियत देखिएका व्यवसायलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सुधार गर्न निर्देशन दिएको छ । साथै म्याद गुज्रिएका, अनुमतिपत्र वा लेबल विवरण नभएका तथा खाद्य सुरक्षाका दृष्टिले अनुपयुक्त सामग्री जफत तथा नष्ट गरिएको जनाएको छ ।
















प्रतिक्रिया थप्नुहोस्