विभागले २०८३ भदौ २५ गते मिठाई पसल लक्षित अनुगमन गरेको हो। अनुगमनका क्रममा १२ वटा मिठाई तथा खाद्य व्यवसायको निरीक्षण गरिएको थियो ।
कमलपोखरीस्थित दूध सागर मिठाई सपमा फ्राइङ तेलको TPM value ३१ पुगेको पाइएको थियो। मापदण्डविपरीत रहेको दुई लिटर तेल नष्ट गरिएको छ । पसलमा पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ, भान्सा र भाँडा माझ्ने ठाउँ सँगसँगै रहेको तथा भान्सामा कृत्रिम खाद्य रंगसमेत भेटिएको विभागले जनाएको छ । व्यवसायीलाई सुधारका लागि निर्देशन दिँदै विभिन्न उत्पादनका नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको छ ।
त्यस्तै, सामाखुसीस्थित नितिश फुड्समा करिब चार किलो मुसाले खाएको मिठाई र उपभोग्य मिति सकिएका दुई प्याकेट खजुरी भेटिएको थियो । उक्त खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ । भाँडा माझ्ने र खाना पकाउने ठाउँमा पार्टिसन गर्न तथा ढक्कन भएको फोहोरदानी प्रयोग गर्न निर्देशन दिइएको छ ।
काठमाडौं स्वीट एण्ड स्न्याक्समा पटक-पटक तताएर प्रयोग गरिएको करिब एक लिटर खराब तेल नष्ट गरिएको छ । पसलमा खुला फोहोरदानी प्रयोग गरेको तथा तयारी खाद्य पदार्थ खुला रूपमा राखेको पाइएपछि खाद्य पदार्थ छोपेर राख्न निर्देशन दिइएको छ ।
यसैगरी टिपटप स्वीट्समा फ्राइङ तेलको TPM value २३ रहेको पाइए पनि मापदण्डअनुकूल रहेको विभागले जनाएको छ । तर सरसफाइ र कीट नियन्त्रणमा सुधार गर्न निर्देशन दिइएको छ । आकाश फुड्स महाराजगञ्ज, श्री शिव फुड्स ज्ञानेश्वर, डोटेल डेरी फार्म, पावन स्वीट्स, संगम स्वीट्स, आकाश फुड्स पाटन, केशर स्वीट्स एण्ड फुड्स र जानकी स्वीट्समा पनि सरसफाइ, लेबल, कीट नियन्त्रण, खाद्य पदार्थ भण्डारणलगायतका विषयमा कमजोरी भेटिएका छन् ।
अनुगमनका क्रममा अधिकांश व्यवसायलाई खाद्य स्वच्छता कायम गर्न, खाद्य पदार्थ छोपेर राख्न, फोहोर व्यवस्थापन सुधार गर्न र कीट नियन्त्रण प्रभावकारी बनाउन निर्देशन दिइएको छ । केही व्यवसायबाट थप अनुसन्धानका लागि खाद्य पदार्थका नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको विभागले जनाएको छ ।











प्रतिक्रिया थप्नुहोस्