काठमाडौँ, १ चैत। नेपालका पश्चिमी क्षेत्रबाट आइतबार बिहानदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग का अनुसार पश्चिमी न्यूनचापीय प्रणाली को प्रभावका कारण सुरु भएको वर्षा क्रमश: पूर्वतर्फ सर्दै गएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थ ले पश्चिम नेपालका डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची र मनाङलगायत जिल्लामा बिहानदेखि वर्षा भइरहेको जानकारी दिए । उनका अनुसार वर्षा गराउने प्रणाली अहिले चितवनसम्म पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा गुल्मीमा १७ मिलिमिटर र तनहुँमा ११ मिलिमिटर वर्षा मापन गरिएको छ । यी क्षेत्रमा अहिले पनि वर्षा जारी रहेको विभागले जनाएको छ ।
हाल देशका मधेस, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लागेको छ भने कोसी र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ । तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको पनि विभागले जनाएको छ ।
विभागले जारी गरेको मौसम बुलेटिनअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोसी र बाग्मती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहने सम्भावना छ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने तथा थोरै स्थानमा हिमपातको सम्भावना रहेको बताइएको छ ।
त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कोसी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। मौसम अझै केही दिन बदली रहने अनुमान गरिएको छ ।










प्रतिक्रिया थप्नुहोस्