कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले असोज १९ गते गरेको परीक्षणमा १० वटा नमुनामध्ये धादिङको थाक्रे गाउँपालिकाबाट ल्याइएको काँक्रोमा विषादीको अवशेष बढी भेटिएको हो ।
प्रयोगशालाको विवरणअनुसार बिदुर भण्डारीले ल्याएको थाक्रे गाउँपालिका, धादिङको काँक्रो नमुना विसर्जन गर्नुपर्ने देखिएको छ । उक्त नमुनामा कार्बामेटतर्फ ३.३६६२ र अर्गानोफस्फेटतर्फ ४४.१९६० प्रतिशत अवशेष देखिएको विवरणमा उल्लेख छ ।
बाँकी नमुनाहरू भने उपभोगयोग्य रहेको प्रयोगशालाले जनाएको छ । परीक्षण गरिएका नमुनामा चिचिण्डो र लौका (चितवन), गोलभेँडा (पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोक तथा गोदावरी नगरपालिका, ललितपुर), काँक्रो (थाक्रे गाउँपालिका, धादिङ), भिण्डी (लालबन्दी नगरपालिका, सर्लाही), घिरौंला (गल्छी गाउँपालिका, धादिङ), मुला (भिमेश्वर नगरपालिका, दोलखा) लगायत छन् ।
प्रयोगशालाको परीक्षण प्रक्रियाअनुसार विषादी अवशेषको रोकावट प्रतिशत ३४ प्रतिशतभन्दा कम भए उपभोग योग्य, ३४ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर पुनः परीक्षण गर्नुपर्ने क्वारेन्टाइन र ४५ प्रतिशतभन्दा बढी भए विसर्जन गर्नुपर्ने उल्लेख छ ।
प्रयोगशालाले परीक्षणबाट प्राप्त नतिजाअनुसार आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा विवरण पठाएको जनाएको छ ।
















प्रतिक्रिया थप्नुहोस्