काठमाडौं, २९ भदौ । कालीमाटी क्षेत्रमा बिक्री तथा उपभोगका लागि राखिएका विभिन्न तरकारीमा गरिएको विषादी अवशेष परीक्षणमा सबै नमुना उपभोगयोग्य पाइएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले आज २९ गते संकलन गरिएका तरकारीका नमुना परीक्षण गरेको हो । परीक्षणमा गोलभेडा, धनियाँ हरियो, फर्सी हरियो, बन्दागोभी, माछे खुर्सानी, भिण्डी, भट्टा र मेथी लगायतका ८ वटा नमुना समावेश थिए ।
प्रयोगशालाको नतिजाअनुसार सबै नमुना उपभोगयोग्य वर्गमा परेका छन् । परीक्षणमा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादी अवशेषको मात्रा तोकिएको रोकावट सीमाभन्दा कम रहेको जनाइएको छ ।
प्रयोगशालाका अनुसार ३५ प्रतिशतभन्दा कम रोकावट भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए क्वारेन्टिनमा राख्नुपर्ने र ४५ प्रतिशतभन्दा माथि भए नष्ट गर्नुपर्ने व्यवस्था छ । परीक्षणको नतिजा आवश्यक जानकारी तथा कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रयोगशालाले जनाएको छ ।






प्रतिक्रिया थप्नुहोस्