बाढीपीडितको राहतमा म्याद गुज्रिएको आटा

काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको अनुगमन गर्दा एक प्याकेट म्याद गुज्रिएको चक्की आटा फेला परेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौंसहितको संयुक्त अनुगमन टोलीले २०८३ भदौ २० गते राहत खाद्य सामग्रीको निरीक्षण तथा अनुगमन गरेको हो । अनुगमन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको विवरणमा उल्लेख छ ।

टोलीले सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा अनुगमन गर्दा तयारी चाउचाउ, बिस्कुट, दालमोठ, चक्की आटा, हुलास पिठो, ताइचिन चिउरा, सोयाबिन मस्यौरा, सोयाबडी, मुसुरो दाल, सातु, सोयाबिन तेल, सोया चंक, भुजा तथा प्याकेजिङ गरिएको प्रशोधित पिउने पानीलगायत सामग्री राहतका लागि पठाउन तयारी अवस्थामा रहेको पाएको थियो ।

अनुगमनका क्रममा अधिकांश खाद्य सामग्रीको लेबलमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भएको तथा उपभोग्य मिति समाप्त नभएको पाइएको थियो । तर, तिरुपती बालाजी फ्लोर मिलबाट उत्पादित महालक्ष्मी ब्रान्डको पाँच किलोको एक प्याकेट चक्की आटा म्याद गुज्रिएको भेटिएको हो ।

म्याद गुज्रिएको उक्त आटा अस्वीकार गरी छुट्टै ‘एक्सपायर्ड जोन’मा राखिएको अनुगमन विवरणमा उल्लेख छ । सो सामग्रीको स्रोतबारे सोधपुछ गर्दा बिक्रेताको स्रोत पत्ता नलागेको जनाइएको छ । अन्य राहत खाद्य सामग्रीको अवस्था भने सन्तोषजनक पाइएको थियो ।

अनुगमन टोलीले राहत खाद्य सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) अपनाउन निर्देशन दिएको छ ।

त्यस्तै, काठमाडौंको बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागमा गरिएको अनुगमनमा चामल, बिस्कुट, चिउरा, सोयाबिन, ग्लुकोज–डी, नमकिन, दाल, प्रशोधित सूर्यमुखी तेल, सोयाबरी, चाउचाउ र प्याकेजिङ गरिएको प्रशोधित पिउने पानी राहतका लागि पठाउन तयारी अवस्थामा रहेको पाइएको थियो ।

उक्त स्थानमा अनुगमन गरिएका सबै खाद्य सामग्रीको लेबलमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भएको तथा उपभोग्य मिति समाप्त नभएको पाइएको विवरणमा जनाइएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै