अनुदानले व्यावसायिक कृषितर्फ आकर्षित भोजपुरका किसान

भोजपुर, ५ भदौ । अनुदान, प्राविधिक सहयोग तथा कृषि पूर्वाधार निर्माणका कार्यक्रम विस्तार भएसँगै भोजपुरका किसान व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् । सिँचाइ, उन्नत बिरुवा, कृषि यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणमा सहयोग पाउन थालेपछि किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक उत्पादनतर्फ उन्मुख भएका हुन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत भोजपुरमा अलैँची सुपर जोन र सुन्तला जोन सञ्चालनमा छन् । अलैँची सुपर जोनले जिल्लाका नौ स्थानीय तहमध्ये सात स्थानीय तहका ३५ वडा समेटेको छ भने सुन्तला जोनले पाँच स्थानीय तहका २६ वडालाई समेटेको छ ।

जोन प्राविधिक एकाइ भोजपुरका प्रमुख कौसिला विष्टका अनुसार किसानलाई अनुदानसँगै खेती प्रविधि, रोग तथा कीरा नियन्त्रण, बगैँचा व्यवस्थापन, सिँचाइ, कृषि यान्त्रीकरण र बजारीकरणसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ । गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा १०९ किसानले अनुदान प्राप्त गरेका छन् ।

कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत भोजपुर नगरपालिका-५ की सङ्गीता श्रेष्ठले १०० रोपनीमा व्यावसायिक तरकारी तथा खुर्सानी खेती गर्दै आएकी छन् । उनको कृषि उद्यमका लागि कार्यालयले रु चार लाख अनुदान दिएको छ भने ५० प्रतिशत लागत किसान आफैँले व्यहोरेका छन् ।

त्यस्तै, भोजपुर नगरपालिका-३ गुप्तेश्वरका किसान हरिप्रसाद प्रधानले अनुदानबाट पक्की सिँचाइ पोखरी निर्माण गरी करिब २० रोपनी क्षेत्रमा ५०० सुन्तलाका बिरुवा लगाएका छन् । सिँचाइ सुविधा भएपछि बगैँचा विस्तार गर्न सहज भएको उनको भनाइ छ ।

सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार कार्यक्रममार्फत गत आवमा ५४ किसानलाई सहयोग गरिएको छ । सिँचाइ सुविधा विस्तार भएपछि वर्षामा मात्र निर्भर हुनुपर्ने अवस्था घट्दै गएको छ भने किसानले तरकारी, सुन्तला, खुर्सानीलगायत विभिन्न नगदेबाली लगाउन थालेका छन् ।

अलैँची उत्पादनलाई गुणस्तरीय बनाउन गत आवमा ३० वटा आधुनिक अलैँची भट्टी वितरण गरिएको छ । त्यस्तै, सुन्तला बाली क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ११ कृषि फर्मले अनुदान पाएका छन्। सिँचाइ पोखरी, सुन्तलाका बिरुवा, पाइप तथा कृषि यान्त्रीकरणमा समेत सहयोग गरिएको कार्यालयले जनाएको छ ।

चक्लाबन्दीमा आधारित खेती कार्यक्रममार्फत गत आवमा १०२ रोपनी क्षेत्रमा अलैँची खेती विस्तार गरी ५५ हजार बिरुवा रोपिएको छ । छरिएको जमिनलाई एकीकृत गरी व्यावसायिक खेती गर्दा उत्पादन लागत घटाउनुका साथै यान्त्रीकरणमा सहज हुने अपेक्षा गरिएको छ ।

भोजपुरमा रैथाने बालीको प्रशोधन र बजारीकरणमा समेत काम भइरहेको छ । रामप्रसादराई गाउँपालिका–६ मा कोदोको बिस्कुट उत्पादन सुरु भएको छ । कोदो, फापर, मकै र कागुनोलगायत रैथाने बालीलाई प्रशोधन, प्याकेजिङ तथा ब्रान्डिङ गर्न सके स्थानीय उत्पादनले थप बजार पाउने सम्भावना रहेको कृषि प्राविधिकको भनाइ छ ।

कृषि क्षेत्रमा अनुदान र प्राविधिक सहयोगले किसानको उत्पादन क्षमता बढाउन सहयोग गरे पनि यसको दीर्घकालीन प्रभावका लागि बजार सुनिश्चितता, उचित मूल्य, भण्डारण, प्रशोधन तथा बजारीकरणमा थप ध्यान दिनुपर्ने देखिएको छ । विशेषगरी सुन्तला र अलैँचीजस्ता नगदेबालीमा हुने मूल्य उतारचढाव किसानका लागि चुनौती बन्ने गरेको छ ।

भोजपुरमा कृषि व्यवसायको सम्भावना उच्च रहेकाले गुणस्तरीय बिरुवा, रोग तथा कीरा नियन्त्रण, माटो परीक्षण, आधुनिक सिँचाइ, सन्तुलित मल प्रयोग र कृषि यान्त्रीकरणलाई थप विस्तार गर्न सके उत्पादन तथा उत्पादकत्व बढाउन सकिने कृषि प्राविधिकहरूको भनाइ छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै