जुम्लामा ३५ करोडभन्दा बढीको स्याउ बिक्री

जुम्ला, २८ भदौ । जुम्लाका किसान र व्यापारी यतिबेला बगैँचामा पाकेको स्याउ सङ्कलन तथा बिक्री गर्न व्यस्त छन् । परिपक्व स्याउ जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय तहको सिफारिस लिएर धमाधम जिल्लाबाहिरका बजारमा पठाउन थालिएको छ ।

व्यापारीहरू बगैँचामै पुगेर स्याउ खरिद गर्न थालेपछि किसानलाई यस वर्ष बिक्री गर्न सहज भएको छ । भदौको तेस्रो सातासम्म जुम्लाबाट गुणस्तरीय स्याउ बोकेका गाडी सुर्खेत, नेपालगन्ज, काठमाडौँलगायतका सहरतर्फ गइरहेका छन् । कर्णाली राजमार्गमा चल्ने अधिकांश ट्रक अहिले स्याउ ढुवानीमा प्रयोग भइरहेका छन् ।

कतिपय किसान आफैँ सहरका बजारमा पुगेर स्याउ बिक्री गरिरहेका छन् भने धेरैले व्यापारीलाई बगैँचाबाटै बिक्री गरेका छन् । सुर्खेत र नेपालगन्जमा समेत जुम्लाको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै बजार लिन थालेको किसानहरू बताउँछन् ।

चन्दननाथ नगरपालिका–८ का किसान धर्मसिंह कठायतले आफ्नै बारीमा उत्पादन भएको करिब नौ लाख रुपैयाँ बराबरको स्याउ सुर्खेतमा बिक्री गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष उत्पादन राम्रो हुनुका साथै समयमै बिक्री गर्न पाउँदा खुसी लागेको उनले बताए । सोही वडाका किसान धनराशि भण्डारीले पनि करिब दुई गाडी स्याउ सुर्खेत र नेपालगन्ज पठाएको जानकारी दिए ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार भदौ २५ गतेसम्म जुम्लामा करिब ३५ करोड रुपैयाँभन्दा बढीको स्याउ बिक्री भइसकेको अनुमान छ । हालसम्म करिब ५० प्रतिशत स्याउ सङ्कलन भइरहेको र यस वर्ष ७० करोड रुपैयाँभन्दा बढीको स्याउ बिक्री हुने अनुमान गरिएको उनले बताए ।

यस वर्ष जुम्लामा स्याउको मूल्यसमेत गत वर्षको तुलनामा प्रतिकेजी करिब २० रुपैयाँले बढेको छ । बगैँचामै स्याउको मूल्य प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्म पुगेको छ । कार्यालयका अनुसार यस वर्ष जुम्लामा १९ हजार ५ सय मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन हुने लक्ष्य छ ।

आर्थिक वर्ष २०८२/८३ मा जुम्लामा १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यसमध्ये पाँच हजार ५९१ मेट्रिक टन स्याउ जिल्लाबाहिर निर्यात हुँदा ४१ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस वर्ष स्याउको मूल्य बढेकाले निर्यातबाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने कार्यालयको अनुमान छ ।

यसैबीच, चन्दननाथ बहुद्देश्यीय सहकारीले यस वर्ष तीन लाख केजी जुम्ली स्याउ खरिद गरी काठमाडौँमा बिक्री गरिरहेको छ । सहकारीले काठमाडौँका विभिन्न मुख्य बजारमा स्याउ बिक्री गरिरहेको व्यवस्थापक ऋषिराम पाण्डेले बताए ।

सहकारीले काठमाडौँको भद्रकालीस्थित नेपाल कृषि अनुसन्धान परिषद्को प्रमुख बिक्री केन्द्रसहित विभिन्न स्थानमा ‘स्याउ बिक्री सप्ताह’ सञ्चालन गरिरहेको छ । सहकारीकी अध्यक्ष विष्णुमाया बुढाका अनुसार जुम्लाको अर्गानिक स्याउलाई ब्रान्डिङ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान बढाउने उद्देश्यले बजारीकरण गरिएको हो ।

जुम्लाबाट काठमाडौँ पुगेका छ वटा गाडीका स्याउ मीनबहादुर गुरुङको भाटभटेनी सुपरमार्केटसँग सम्झौता गरी बिक्री भइसकेका छन् । स्रोत:- गोरखापत्र अनलाइन

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै