काठमाडौं, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजारबाट परीक्षणका लागि संकलन गरिएका नौवटा तरकारीका नमुना उपभोगयोग्य रहेको पाइएको छ ।
केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले गरेको परीक्षणमा आलुका छ, प्याज, गोलभेडा र खुर्सानीका एक–एक नमुनामा विषादीको अवशेष तोकिएको सीमाभित्र रहेको पाइएको हो ।
प्रयोगशालाले भदौ १० गते जारी गरेको परीक्षण प्रतिवेदनअनुसार भारतबाट आयात गरिएको आलुका दुई नमुनासहित विभिन्न स्थानबाट ल्याइएका आलु, प्याज, गोलभेडा र खुर्सानीको नमुना परीक्षण गरिएको थियो । परीक्षण गरिएका सबै नमुनालाई ‘उपभोग योग्य’ भनेर उल्लेख गरिएको छ ।
प्रयोगशालाका अनुसार तरकारी तथा फलफूलमा विषादी अवशेषको मात्रा तोकिएको मापदण्डभन्दा कम भएमा उपभोगयोग्य मानिन्छ । ३४ प्रतिशतभन्दा कम अवशेष भए उपभोगयोग्य, ३४ देखि ४५ प्रतिशतसम्म भए केही दिन रोक्का राखेर पुनः परीक्षण गर्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए विसर्जन गर्नुपर्ने व्यवस्था छ ।
प्रयोगशालाले परीक्षणको नतिजा आवश्यक जानकारी तथा कारबाहीका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई पठाएको जनाएको छ । प्रतिवेदनमा उल्लेखित नमुनामा विषादी अवशेषको मात्रा उपभोगयोग्य सीमाभित्र रहेकाले ती वस्तु बजारमा उपभोगका लागि योग्य रहेको जनाइएको छ ।


.2026-08-26-11-08-59.jpeg)
.2026-08-26-09-08-04.jpeg)







प्रतिक्रिया थप्नुहोस्