प्रयोगशालाको २०८३ भदौ २४ गतेको परीक्षण प्रतिवेदनअनुसार गोलभेंडा, घिरौला, काक्रो, भान्टा, बोडी, घिउसिमी, फर्सी हरियो र बन्दागोभीलगायतका नमूनामा कार्बामेट तथा अर्गानोफस्फेट समूहका विषादी अवशेष परीक्षण गरिएको थियो । परीक्षण गरिएका सबै १० नमूना उपभोग योग्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
परीक्षण गरिएका नमूनामध्ये चन्द्रागिरि नगरपालिका-काठमाडौँबाट भद्रबहादुर सिलवालको गोलभेंडा र घिरौला, महांकाल गाउँपालिका ललितपुरबाट गंगा प्रसाद खरेलको काक्रो, बनेपा नगरपालिका काभ्रेपलाञ्चोकबाट झंकबहादुर खड्काको गोलभेंडा तथा गजुरी गाउँपालिका धादिङबाट श्रीराम आचार्यको भान्टा रहेका छन् ।
यस्तै, चितवनबाट जीवनचन्द्र उप्रेतीको बोडी, थाहा नगरपालिका मकवानपुरबाट मनिप बस्नेतको काक्रो, गल्छी गाउँपालिका धादिङबाट लिलानाथ ढुंगानाको घिउसिमी, दक्षिणकाली नगरपालिका काठमाडौँबाट धनचरी लामाको फर्सी हरियो र थाहा नगरपालिका मकवानपुरबाट हरि प्रसाद खरेलको बन्दागोभीको नमूना परीक्षण गरिएको थियो ।
प्रतिवेदनअनुसार विषादी अवशेषको रोकावट प्रतिशत ३५ प्रतिशतभन्दा कम भए उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर पुनः परीक्षण गर्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए विसर्जन गर्नुपर्ने व्यवस्था छ । परीक्षण गरिएका नमूना उपभोग योग्य रहे पनि प्रतिवेदनले उल्लेख गरेका कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीबाहेक अन्य विषादी तथा रसायनका हकमा यही नतिजा लागू नहुने स्पष्ट पारेको छ ।






प्रतिक्रिया थप्नुहोस्