१२ हजारबाट सुरु गरेको माछापालनबाट वार्षिक १५ लाख बचत

धनगढी, २८ भदौ । कैलालीको कैलारी गाउँपालिका–४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि व्यावसायिक रूपमा माछापालन गर्दै आएका छन् । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ सुरु गरेको माछापालन अहिले उनको आम्दानीको प्रमुख स्रोत बनेको छ ।

विदेश गएर काम गर्नुभन्दा स्वदेशमै व्यवसाय गर्न सकिन्छ भन्ने सोचसहित माछापालन सुरु गरेका खरेलले यस व्यवसायबाट वार्षिक करिब १५ लाख रुपैयाँ बचत गर्दै आएका छन् । उनका अनुसार १२ हजार रुपैयाँ लगानीबाट सुरु गरेको व्यवसायमा हालसम्म करिब ५० लाख रुपैयाँ लगानी भइसकेको छ ।

आफ्नै जमिनमा चार वटा ठूला पोखरी निर्माण गरी माछापालन गर्दै आएका खरेलले वार्षिक करिब ६५ लाख रुपैयाँ बराबरको कारोबार हुने बताए । सम्पूर्ण खर्च कटाएर वार्षिक करिब १५ लाख रुपैयाँ बचत हुने उनको भनाइ छ ।

“माछापालनमा लगानीसँगै मेहनत र समय दिनुपर्दछ । राम्रोसँग व्यवस्थापन गर्न सके यसबाट परिवारको खर्च धान्ने मात्र होइन, राम्रो बचत पनि गर्न सकिन्छ,” उनले भने ।

माछापालनको रेखदेख तथा हेरचाहका लागि खरेलले आठ जना स्थानीयलाई रोजगारी दिएका छन् । उनीहरूको मासिक तलबमा मात्रै एक लाख ५२ हजार रुपैयाँ खर्च हुने उनले बताए ।

खरेलका पोखरीमा हाल ग्रास, कमन कार्प, रहु, जलकपुरलगायत जातका करिब ३०० क्विन्टल माछा रहेका छन् । उनले माछा होलसेलमा प्रतिकिलो ३०० रुपैयाँ र खुद्रामा ३५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् ।

दक्षिणी सीमा क्षेत्रमा पछिल्लो समय गरिएको कडाइका कारण अवैध रूपमा नेपाल भित्रिने भारतीय माछाको आयात रोकिएपछि नेपाली माछाले राम्रो बजार पाउन थालेको खरेलको भनाइ छ । यसले गर्दा माछाको मूल्य पनि अपेक्षाअनुसार पाउन थालेको उनले बताए ।

माछापालनसँगै खरेलले कुखुरापालन र बङ्गुरपालनसमेत गर्दै आएका छन् । कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन तथा स्थानीय उत्पादन प्रवद्र्धन गर्न माछापालनजस्ता व्यवसायलाई प्रोत्साहन गर्न सके गाउँमै रोजगारी सिर्जना हुनुका साथै किसानको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै