काठमाडौं, ३० भदौ । भोटेकोशी बाढीपीडितका लागि विदेशबाट ल्याइएका तथा राहतका लागि पठाउन तयार पारिएका खाद्य सामग्रीको निरीक्षण तथा अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिति २०८३/०५/२७ गते विभिन्न स्थानमा राहत खाद्य सामग्रीको निरीक्षण तथा अनुगमन गरेको हो ।
विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा जिकेन फ्लेभर्ड नुडल्स सुप, टमाटरको पेस्ट, मैदा, जिया, मह, मसला, डेट्स, क्यानमा बन्द गरिएको बकुल्ला सिमी (Fava Beans), टेबल नुन, खुर्पानीको पेस्ट, हेजलनट क्रिम, पास्ता, तोहिनी, एक्स्ट्रा भर्जिन जैतुनको तेलसँग ब्लेन्ड गरिएको सूर्यमुखीको रिफाइन्ड तेल, रिफाइन्ड एडिबल पाम ओलिन तेल, चिनी, चामल तथा क्यानमा बन्द गरिएको काबुली चना लगायतका खाद्य सामग्री राहतका लागि विदेशबाट आएको पाइएको छ ।
अनुगमनका क्रममा ती खाद्य सामग्रीको लेबलमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भएको तथा उपभोग्य मिति समाप्त नभएको पाइएको विभागले जनाएको छ ।
त्यस्तै, काठमाडौंको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा मसुरो दाल, सूर्यमुखी तेल, जिरा, गरम मसला, काश्मीरी मिर्च पाउडर, चाउचाउ, बेसार, चिनी, आयोडिनयुक्त नुन, बासमती चामल, बिस्कुटलगायतका खाद्य सामग्री राहतका लागि पठाउन तयारी अवस्थामा रहेको पाइएको छ ।
ती खाद्य सामग्रीको लेबलमा पनि ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भएको तथा उपभोग्य मिति समाप्त नभएको अनुगमनबाट देखिएको विभागले जनाएको छ ।
विभागले राहत खाद्य सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) अपनाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।











प्रतिक्रिया थप्नुहोस्