बाढीपीडितका लागि राखिएको राहत सामग्रीमा म्याद गुज्रिएको चामल र बिस्कुट भेटियो

काठमाडौं, २१ भदौ । भोटेकोशी बाढीपीडितका लागि उपलब्ध गराउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको अनुगमन गर्दा म्याद गुज्रिएको चामल तथा बिस्कुट भेटिएको छ । साथै, ठूलो परिमाणमा खुला चामल घुन लागेको र चिउरा भिजेको अवस्थामा पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौंसहितको संयुक्त अनुगमन टोलीले २०८३ भदौ २१ गते विभिन्न स्थानमा राहत खाद्य सामग्रीको निरीक्षण तथा अनुगमन गरेको हो । अनुगमन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको विभागले जनाएको छ ।

टोलीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय बागमती, थापाथली गोदाममा अनुगमन गर्दा स्तरोन्नति ९फोर्टिफाइड० गरिएको जुम्ला जीरा मसिनो चामल, चामल, सूर्यमुखी तेल र आयोडिनयुक्त नुन राहतका लागि पठाउन तयारी अवस्थामा रहेको पाएको थियो । ती सबै खाद्य पदार्थको लेबलमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भएको तथा उपभोग्य मिति समाप्त नभएको पाइएको थियो । सामग्रीको अवस्था सन्तोषजनक रहेको र वितरण गर्दा असल वितरण अभ्यास अपनाउन निर्देशन दिइएको छ ।

त्यस्तै, राधा स्वामी सत्सङ्ग, सामाखुसीमा गरिएको अनुगमनमा इनर्जी बिस्कुट, चाउचाउ, भुजा, चिउरा, दालमोठ, बिस्कुट, सूर्यमुखी तेल, चामल, नमकिन, ललिपप र प्रशोधित पिउने पानी राहतका लागि तयारी अवस्थामा रहेको पाइएको थियो ।

तर, सगरमाथा एग्रो ट्रेडिङ वीरगञ्जबाट उत्पादित ‘जय हो’ ब्रान्डको चामल दुई बोरा म्याद गुज्रिएको भेटिएको छ । उक्त चामललाई अलग्गै राखी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि विभागमा पेस गरिएको छ ।

यसैगरी, प्लास्टिकमा पोका बनाएर राखिएको ६३१ किलो खुला चामलमा घुन लागेको स्पष्ट देखिएपछि त्यसलाई नष्ट गर्न एक्सपायर्ड जोनमा राखिएको छ । कलश चिउरा उद्योग, सप्तरीबाट उत्पादित दुई बोरा चिउरा भिजेको अवस्थामा भेटिएपछि अस्वीकार गरिएको अनुगमन विवरणमा उल्लेख छ ।

टोलीले शहरी विकास तथा भवन निर्माण विभागमा पनि अनुगमन गरेको थियो । त्यहाँ तयारी चाउचाउ, सातु, भुजा, चिउरा, बिस्कुट, नुन, तोरीको तेल र आटालगायत राहत सामग्री तयारी अवस्थामा रहेको पाइएको थियो । अधिकांश खाद्य पदार्थको लेबलमा आवश्यक विवरण र उपभोग्य मिति उल्लेख भएको तथा म्याद कायम रहेको पाइएको भए पनि राधाकृष्ण ब्रान्ड, काभ्रेपलाञ्चोकबाट उत्पादित बिस्कुटको उपभोग्य मिति समाप्त भएको भेटिएको विभागले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै