बागलुङ, २४ भदौ । बागलुङका खेतीयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ । कृषि विकास कार्यालय, बागलुङले परीक्षण गरेका ३२० माटोका नमूनामध्ये ६२ प्रतिशतमा अम्लीयपन देखिएको हो ।
कार्यालयका अनुसार परीक्षण गरिएका माटोमध्ये ३७ प्रतिशत तटस्थ र एक प्रतिशत क्षारीय रहेको पाइएको छ । माटोको पीएच सातलाई तटस्थ मानिन्छ । सातभन्दा कम पीएच भए अम्लीय र सातभन्दा बढी भए क्षारीय मानिन्छ ।
माटोमा नाइट्रोजनको मात्रा पनि न्यून रहेको पाइएको छ । परीक्षण गरिएका ३२० नमूनामध्ये २०५ वटामा नाइट्रोजन न्यून, १११ वटामा मध्यम र चार वटामा उच्च रहेको कृषि विकास कार्यालयका प्रमुख कुमार पुनले जानकारी दिनुभयो ।
त्यस्तै, फस्फोरस ११ नमूनामा न्यून, ३०३ वटामा मध्यम र छ वटामा उच्च रहेको छ । पोटासियमतर्फ ८० नमूनामा मात्रा न्यून, २१७ वटामा मध्यम र २३ वटामा उच्च रहेको कार्यालयले जनाएको छ ।
माटोमा अम्लीयपन बढ्नुको प्रमुख कारण असन्तुलित रूपमा रासायनिक मलको प्रयोग र प्राङ्गारिक मलको प्रयोग घट्दै जानु रहेको प्रमुख पुनले बताउनुभयो । विशेषगरी युरिया मलको अत्यधिक प्रयोगले माटोको अवस्था बिगार्न सक्ने भएकाले किसानले मलको सन्तुलित प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
माटोको अवस्था सुधार गर्न प्राङ्गारिक तथा हरियो मलको प्रयोग बढाउनुका साथै कोसेबाली लगाउनुपर्ने कृषि प्राविधिकले सुझाव दिएका छन् । माटो परीक्षणका आधारमा आवश्यकता अनुसार चुन तथा आवश्यक पोषक तत्व प्रयोग गरे अम्लीयपन नियन्त्रण गर्न सकिने उनीहरूको भनाइ छ ।
कार्यालयले जैमिनी नगरपालिका–२, काठेखोला गाउँपालिका–९ र बागलुङ नगरपालिका–८ मा माटो परीक्षण शिविर सञ्चालन गरेको थियो । माटोमा अम्लीयपन बढ्दा उर्वराशक्तिमा कमी आई कृषि उत्पादनमा समेत असर पर्न सक्ने भएकाले नियमित माटो परीक्षण गरी आवश्यकताअनुसार मलखाद प्रयोग गर्न प्राविधिकले किसानलाई आग्रह गरेका छन् ।











प्रतिक्रिया थप्नुहोस्