स्याङ्जा । कृषिको प्रमुख क्षेत्रहरुमध्ये मत्स्य क्षेत्रले एक गतिशिल र उदयमान क्षेत्रको रुपमा आफ्नो पहिचान बनाएको छ । परामपरागत शैलीमा पालिने मत्स्यपालन वर्तमान अवस्थामा व्यवसायीक रूपमा पालन गर्दै आएका देखिन्छ।
प्रविधिको विकास, शुद्ध नश्लका भूरा उत्पादन, यन्त्रीकरणको प्रयोग, र उच्च प्रोटिन भएको माछादानाको प्रयोगले मत्स्यपालनलाई थप आधुनिकिकरण र व्यवसायीकिकरणको दिशातर्फ उन्मुख भएको छ । माछापालनमा कुल उत्पादन लागतको ४० देखि ६०% खर्च दानामा हुने गर्दछ भने साना फार्म जहाँ एकाघरका सदस्यहरू मात्र माछापलनमा संलग्न हुन्छन्, त्यस्तो फार्ममा यो खर्च अझै बढेर जान सक्ने हुन्छ ।
वर्तमान अवस्थामा, नेपालमा अधिकांश ठूला दाना कम्पनीहरूले दानाको बजार ओगटेका छन् र माछाको दाना उद्योग भने सिमित संख्यामा मात्र स्थापना भएका छन् । माछाका कृषकले प्रायः एउटै दाना कम्पनीका दाना पसल वा प्रतिनिधिहरूवाट नियमित रूपमा दाना किन्नछन् ।
ती प्रतिनिधिहरू कृषकको मत्स्य फार्ममा जादाँ उनीहरुबिच सम्बन्ध स्थापित हुने जसले गर्दा कृषकले प्राविधिक एवं अन्य व्यवस्थापकिय सल्लाह पनि पाउँछन् । यस्ता कम्पनी वा बिक्री सञ्जालहरूले माछाको दाना मात्रै नभई मत्स्यपालनमा बीमा सेवा पनि उपलब्ध गराउन सके एक नवीन प्रयास बन्न सक्छ कि ?
यो दृष्टिकोणले माछापालन कृषकलाई बीमा पोलिसीमा सजिलो पहुँच प्रदान गर्न सक्छ । कृषकले दानाको मूल्यमा बीमा प्रिमियमको रकम थप तिरेर दानासँगै बीमाको सेवा पनि प्राप्त गर्न सक्छन्, यसरी बीमा प्रिमियमको न्यून लागत दाना खरिदको लागतमा थप्न सकिन्छ ।
नेपालमा धेरै जसो कृषकले प्रायः उधारोमा दाना किन्ने हुदाँ बीमा प्रिमियमको रकमपनि त्यसैमा थप गरिदिँदा विपद् भएको अवस्थामा "दानाको ऋण" भुक्तानीको ग्यारेन्टी प्राप्त गर्न सकिन्छ।
माछाको क्षतिभएको समयमा आपूर्तिकर्ताहरूलाई प्रत्येक कृषकको मत्स्य पोखरी वा फार्ममा खपत भएको माछादानाको आधारमा माछाको अधिकतम मूल्य थाहा हुन्छ, जसले गर्दा बीमा कम्पनिहरुलाई माछाको क्षति मूल्यांकन दाना खरिदको आधारमा निर्धारण गर्न सहज हुन सक्दछ ।
यो मोडेलले रोग वा प्राकृतिक प्रकोपका कारणले भएका क्षतिबाट कृषकलाई छिटो पुनःस्थापित हुन र आफ्नो व्यवसाय पुनः सञ्चालन गरी आम्दानी सुरु गर्न सहयोग पुर्याउँछ भने दाना कम्पनी वा व्यवसायीहरूलाई पनि आफ्नो दानाको रकम उठ्ने ग्यारेन्टी गराउन सक्छ ।
यस्तो प्रयासले सरकार र वीमा प्रदायक संस्थालाई विविन्न माध्यम वाट फाईदा हुनेनै देखिन्छ, जस्तैस व्यवसायको समुहगत लाभ, भुक्तानीमा न्यून लागत र प्रिमियम संकलन, मानकीकृत नीतिस धेरै किसानहरूलाई बीमा सेवा प्रदान गर्न सक्ने क्षमता, बैंक खाता नभएका साना किसानहरूसम्म पहुँचको सम्भावना र जोखिम पहिचान, मूल्यांकनका आधार, प्राविधिक सेवा टेवा आदी ।
यो मोडेल दाना प्रयोग नगरी सामान्य माछापालन गर्ने प्रणालीहरूमा भने फितलो देखिन्छ तर त्यस्ता सामान्य माछापालन गर्ने फार्महरुमा दानाको प्रयोग नहुँदा घाटा भने न्यून हुने गर्दछ ।
लेखकः रविनसन अधिकारी,
कार्यालय प्रमुख,
मत्स्य विकास केन्द्र,
मिर्मी, स्याङ्जा
















Yekdam ramro kuro dr sab