चैतमै २३ स्थानमा बर्डफ्लु पुष्टि, एक लाखभन्दा बढी कुखुरा नष्ट

काठमाडौँ, २३ चैत । यस वर्ष चैत महिनामा मात्रै देशका विभिन्न २३ स्थानमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार चैत अघि भने यस वर्ष बर्डफ्लुको कुनै घटना देखिएको थिएन।

यस वर्ष पहिलो पटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकैसाथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो । त्यसपछि संक्रमण क्रमशः अन्य जिल्लामा फैलिएको हो ।

विभागका अनुसार सुनसरीमा १२, मोरङमा ७, झापामा २, चितवन र काठमाडौँमा एक–एक स्थानमा बर्डफ्लु पुष्टि भएको छ । संक्रमण देखिएका क्षेत्रहरूलाई नियन्त्रणमा लिएर थप फैलिन नदिएको दाहालले जानकारी दिए ।

संक्रमण नियन्त्रणका क्रममा ती क्षेत्रमा एक लाख चार हजार कुखुरा तथा हाँस नष्ट गरिएको छ । काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा कागमा पनि बर्डफ्लु संक्रमण देखिएको थियो ।

सुनसरी, झापा र मोरङमा संक्रमण फैलिएपछि ती जिल्लामा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । बर्डफ्लु देखिएका स्थानलाई विशेष क्षेत्र घोषणा गरी आकस्मिक रोग अन्वेषण टोलीले नियन्त्रणका उपायहरू अपनाएको जनाएको छ ।

सरकारले बर्डफ्लु देखिएपछि प्रभावित क्षेत्रमा कुखुरा तथा हाँस नष्ट गर्ने र किसानलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्दै आएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑