कोरोना संकटपछि गाउँ फर्किएर सफल किसान बनेका बलरामको कमाई मासिक २ लाख बचत

गलकोट (बागलुङ), ३१ वैशाख । कोरोना महामारीका कारण १२ वर्षदेखि बागलुङ बजारमा सञ्चालन गर्दै आएको मिष्टान्न तथा होटल व्यवसाय बन्द भएपछि बलराम सापकोटाले गाउँ फर्केर कृषि तथा पशुपालन व्यवसाय सुरु गरे । महामारीको कठिन अवस्थालाई उनले अवसरमा बदल्दै अहिले सफल किसानका रूपमा परिचित भएका छन् ।

२०७६ सालदेखि व्यावसायिक रूपमा कृषि र पशुपालनमा लागेका सापकोटाले हाल करिब एक करोड रुपैयाँ लगानी गरेका छन् । बागलुङ नगरपालिका-५ मालिकास्थित आफ्नो तथा भाडाको गरी ३६ रोपनी जग्गामा उनले गाई-भैँसी पालन र फलफूल खेती विस्तार गरेका हुन् ।

हाल उनीसँग ११ वटा गाई र १३ वटा भैँसी छन्, जसबाट दैनिक करिब १५० लिटर दूध उत्पादन हुन्छ । उक्त दूध बागलुङ दुग्ध उत्पादन संस्थामार्फत बिक्री हुँदै मासिक करिब ४ लाख ५० हजार रुपैयाँ आम्दानी भइरहेको उनले बताए । खर्च कटाएर करिब २ लाख रुपैयाँ बचत हुने र सोही रकमलाई फलफूल खेती विस्तारमा लगानी गरिरहेको उनको भनाइ छ ।

सापकोटाले आफ्नो फार्ममा १,००० सुन्तला, ११० कागती र ५० ओखरका बिरुवा रोपेका छन् । मल्चिङ प्रविधिबाट सुन्तला खेती गर्दै उनले झार नियन्त्रण, चिस्यान संरक्षण र माटोको उर्वराशक्ति कायम राख्ने काम गरेका छन् । साथै, सिँचाइका लागि गहुँत र लिफ्टिङ प्रणाली प्रयोग गरी पानी करिब २०० मिटर माथिसम्म पुर्‍याइएको छ ।

हाल उनको फार्ममा चार जना स्थानीयले रोजगारी पाएका छन् । उनी सुन्तला पकेट क्षेत्र बनाउने लक्ष्यसहित काम गरिरहेको बताउँछन् । “कोरोनाले एउटा व्यवसाय बन्द गरायो तर अर्को अवसर खोल्यो,” सापकोटाले भने, “गाउँमै मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन चाहन्छु ।”

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै