विभागले मिति २०८३/०४/२५ गते गरेको अनुगमनका क्रममा भक्तपुर नगरपालिका-२ स्थित शिवम डेरी प्रालि, भक्तपुर नगरपालिका-८ स्थित महेश्वरी डेरी उद्योग र सोही स्थानमा रहेको ओम संजीवनी डेरी प्रालिको निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा शिवम डेरीको सरसफाइ सामान्य र व्यक्तिगत सरसफाइ सन्तोषजनक पाइएको विभागले जनाएको छ । प्रशोधन कक्षको ढोका सजिलै सफा गर्न मिल्ने तथा स्वचालित रूपमा बन्द हुने भए पनि उपयुक्त पर्दा नलगाइएको पाइएको थियो । यस्तै, भण्डारण कक्षमा एसएमपी (स्किम मिल्क पाउडर) र चिनी राखिएको भेटिएको थियो । उद्योगलाई दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तरसम्बन्धी निर्देशिका, २०७५ बमोजिम कार्य गर्न निर्देशन दिइएको छ ।
त्यसैगरी, महेश्वरी डेरी उद्योगको प्रयोगशाला व्यवस्थित नरहेको र सरसफाइ सामान्य रहेको पाइएको छ । उद्योगमा दूध प्रशोधन नभएको तथा प्रशोधन र भण्डारण कक्ष व्यवस्थित रहेको अनुगमनका क्रममा देखिएको थियो। दही उत्पादनका लागि आवश्यक अनुमतिपत्रसमेत नलिएको पाइएको विभागले जनाएको छ ।
उक्त उद्योगलाई नियमित सरसफाइ गर्न, चिस्यान कक्ष र प्रयोगशाला व्यवस्थित गर्न तथा दही उत्पादनका लागि अनुमतिपत्र लिने प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ ।
ओम संजीवनी डेरी प्रालिको सरसफाइ सामान्य तथा व्यक्तिगत सरसफाइ सन्तोषजनक रहेको पाइएको छ। प्रशोधन तथा भण्डारण कक्ष व्यवस्थित भए पनि भण्डारण कक्षमा एसएमपी र चिनी राखिएको भेटिएको थियो । उद्योगलाई नियमित सरसफाइ गर्न र चिस्यान कक्ष व्यवस्थित गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमन तथा कारबाहीको विवरण सार्वजनिक गर्दै खाद्य व्यवसायलाई स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।
















प्रतिक्रिया थप्नुहोस्