काठमाडौँ, २६ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुनासोका आधारमा काठमाडौँका कीर्तिपुर र चन्द्रागिरिका तीन खाद्य व्यवसायमा आकस्मिक बजार अनुगमन गरेको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन गर्दै सुधारका लागि निर्देशन दिनुका साथै थप अनुसन्धानका लागि खाद्य पदार्थका नमुना संकलन गरेको हो ।
विभागले २०८३/०४/२५ गते कीर्तिपुर नगरपालिका–८ स्थित जेन जिप्स क्याफे (कीर्तिपुर सिनेप्लेक्स) मा गुणस्तरहीन पपकर्न बिक्री वितरण गरिएको भन्ने गुनासोका आधारमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मकै भण्डारण कक्षको अवस्था सामान्य रहेको तथा तत्काल मकै भुटेर पपकर्न बनाई बिक्री वितरण गर्ने गरेको पाइएको थियो । पपकर्न प्रशोधन कक्ष र कच्चा पदार्थ भण्डारण कक्षको सरसफाइसमेत सन्तोषजनक रहेको विभागले जनाएको छ ।
विभागले मकै केलाएर तथा सुकाएर मात्र प्रशोधन गर्न निर्देशन दिएको छ । साथै, थप अनुसन्धानका लागि मकै र पपकर्नको नमुना संकलन गरिएको छ ।
त्यसैगरी कीर्तिपुर–९ स्थित पूजा स्वीट्समा तयारी खाद्य पदार्थमा साङ्ला भेटिएको भन्ने गुनासोपछि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मिठाई उत्पादन कारखानाको सरसफाइमा कमी रहेको पाइए पनि कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक रहेको र भान्सामा कीटको संक्रमण नदेखिएको विभागले जनाएको छ ।
प्याक गरिएका काँचो समोसा पकाउनुअघि फ्रिजमा भण्डारण गर्ने गरिएको समेत पाइएको थियो । विभागले नियमित सरसफाइ गर्न, प्रभावकारी रूपमा कीट नियन्त्रणको व्यवस्था गर्न तथा तयार खाद्य पदार्थ मेसिनजन्य पत्रपत्रिकामा प्याक नगर्न निर्देशन दिएको छ ।
देखिएका कैफियत सुधार गरी सात दिनभित्र विभागमा उपस्थित हुन पनि व्यवसायीलाई निर्देशन दिइएको छ ।
यसैगरी चन्द्रागिरि नगरपालिका–८ स्थित होली माउन्टेन फुड एण्ड बेभरेज प्रालिमा जारको पानीमा नराम्रो गन्ध आएको भन्ने गुनासोका आधारमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा सरसफाइ र उद्योगको पूर्वाधारको अवस्था सामान्य रहेको पाइएको विभागले जनाएको छ ।
उक्त उद्योगबाट थप अनुसन्धानका लागि प्रशोधित पिउने पानीको जारको नमुना संकलन गरिएको छ । नमुनाको परीक्षणपछि पानीको गुणस्तरबारे थप तथ्य खुल्ने विभागले जनाएको छ ।
















प्रतिक्रिया थप्नुहोस्