नेपालको कृषि अर्थतन्त्रमा पशुपन्छी तथा मत्स्य क्षेत्रले खाद्य सुरक्षा, पोषण सुरक्षा, रोजगारी सिर्जना तथा ग्रामीण आयआर्जनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। पशुपालन क्षेत्रको कृषि क्षेत्रमा कुल गार्हस्थ उत्पादनको करिब १२ प्रतिशत योगदान रहेको छ।
कोशी प्रदेशले मात्र राष्ट्रको कुल दूध उत्पादनमा १९.१७ प्रतिशत, पशुको मासु उत्पादनमा १७ प्रतिशत, कुखुराको मासु उत्पादनमा १३ प्रतिशत तथा माछा उत्पादनमा ३९.२६ प्रतिशत योगदान पुर्याइरहेको छ। पछिल्लो दशकमा दूध, मासु, अण्डा तथा माछा उत्पादन निरन्तर वृद्धि भएको देखिन्छ।
विशेष गरी कोशी प्रदेश नेपालको प्रमुख दुग्ध तथा छुर्पी उत्पादन केन्द्रका रूपमा विकास हुँदै गएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार प्रदेशबाट वार्षिक करिब चार अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात हुने गरेको छ।
अमेरिकी तथा युरोपेली बजारमा नेपाली छुर्पीको बढ्दो मागले पशुपालन क्षेत्रलाई नयाँ सम्भावना प्रदान गरेको छ। तर उत्पादन वृद्धि मात्र पर्याप्त छैन; अन्तर्राष्ट्रिय बजारमा दिगो पहुँचका लागि गुणस्तर, खाद्य सुरक्षा र ट्रेसबिलिटीको (Traceability) सुनिश्चता अनिवार्य हुनका साथै रोग मुक्त क्षेत्र घोषणा हुनु पनि उत्तिकै महत्वपुर्ण छ। सुरक्षित खाद्य उत्पादनको यात्रा बजारबाट होइन, गोठबाट सुरु हुन्छ। पशुले खाने आहाराको गुणस्तरले नै दूध, मासु, अण्डा, माछा तथा त्यसबाट बन्ने छुर्पीको गुणस्तर निर्धारण गर्दछ।
उत्पादनको परिमाण र गुणस्तरबीचको अन्तर
पशु उत्पादनको गुणस्तर भन्नाले दूध, मासु, अण्डा र ऊन जस्ता पशुजन्य पदार्थहरूको पौष्टिकता, स्वच्छता, र उपभोक्ताको स्वास्थ्यका लागि उपयुक्ततालाई बुझाउँछ। गुणस्तरीय उत्पादनले उपभोक्ताको स्वास्थ्य संरक्षण र व्यवसायको दिगोपन दुवै सुनिश्चित गर्दछ। नेपालमा पशुपालन व्यवसायमा कुल उत्पादन लागतको करिब ७० प्रतिशत हिस्सा आहारामा खर्च हुन्छ।
यति ठूलो लगानी हुने क्षेत्रको गुणस्तर वैज्ञानिक रूपमा परीक्षण नहुनु ठूलो कमजोरी हो। अधिकांश किसानले अझै पनि परम्परागत अनुभवका आधारमा पशुलाई दाना तथा घाँस खुवाउने गरेका छन्। पशुले पेट भरेको देखिए पनि आवश्यक प्रोटिन, ऊर्जा, खनिज तथा भिटामिन प्राप्त गरेको छ वा छैन भन्ने प्रश्नको उत्तर प्रायः उपलब्ध हुँदैन।
गाईभैंसी, बाख्रा, भेडा, सुँगुर, कुखुरा तथा माछाको पोषण आवश्यकता उमेर, तौल, उत्पादन अवस्था तथा वातावरण अनुसार फरक हुन्छ। दुधालु गाईलाई आवश्यक पर्ने पोषण र थारो पशुलाई आवश्यक पर्ने पोषण एउटै हुन सक्दैन। त्यस्तै उच्च उत्पादन दिने पशुलाई कम गुणस्तरको आहारा खुवाउँदा अपेक्षित उत्पादन प्राप्त हुँदैन। यसको प्रत्यक्ष असर दूध उत्पादन, प्रजनन क्षमता, वृद्धि दर, रोग प्रतिरोधात्मक क्षमता तथा आर्थिक नाफामा पर्दछ।
किन आवश्यक छ पशु आहारा परीक्षण ?
पशु आहाराको गुणस्तर केवल आँखाले हेरेर वा बाहिरी स्वरूपका आधारमा मूल्याङ्कन गर्न सकिँदैन। कुनै पनि आहारामा कति मात्रामा प्रोटिन, ऊर्जा, फाइबर, खनिज तथा भिटामिन छन् भन्ने कुरा प्रयोगशालामा परीक्षण नगरी यकिन गर्न सम्भव हुँदैन।
त्यस्तै, ढुसीजन्य विषाक्त पदार्थ (माइकोटक्सिन), अफ्लाटक्सिन, भारी धातु तथा अन्य दूषित तत्वहरू सामान्य निरीक्षणबाट पत्ता लाग्दैनन्। यदि पशुले अफ्लाटक्सिनयुक्त दाना सेवन गर्यो भने त्यसको असर दूधमा समेत देखिन सक्छ, जसले मानव स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्छ।
त्यसैले पशु आहारा परीक्षणले पशुलाई खुवाइने आहाराको वास्तविक पोषणस्तरबारे विश्वसनीय जानकारी प्रदान गर्दछ र प्रत्येक वर्ष उत्पादन वा खरिद गरिने आहाराको गुणस्तर फरक हुन सक्ने भएकाले आवश्यक पोषकतत्त्वको मात्रा सुनिश्चित गर्न मद्दत गर्दछ।
परीक्षणको आधारमा पशुको आवश्यकता अनुसार सन्तुलित तथा वैज्ञानिक रासन तयार गर्न सकिन्छ, जसले कम वा बढी खुवाउने समस्या न्यूनीकरण गरी उत्पादन लागत घटाउँछ। आहाराको गुणस्तरले पशुको स्वास्थ्य, उत्पादन क्षमता, प्रजनन क्षमता, रोग प्रतिरोधात्मक शक्ति तथा दूध, मासु र अण्डाको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसको नियमित परीक्षण आवश्यक हुन्छ।
यसले प्रोटिन, खनिज तथा भिटामिनको कमी वा असन्तुलनबाट हुने समस्याको जोखिम कम गर्नुका साथै रोग प्रकोप नियन्त्रणमा पनि सहयोग पुर्याउँछ। सही पोषण व्यवस्थापनमार्फत दूध, मासु तथा अन्य पशुजन्य उत्पादनको मात्रा र गुणस्तर वृद्धि हुने, गर्भाधान तथा बच्चा जन्माउने दरमा सुधार आउने र पशुपालन व्यवसाय थप लाभदायी बन्ने सम्भावना बढ्छ। साथै, आहारा र पिउने पानी दुवैको गुणस्तर परीक्षणले पशुधनलाई स्वस्थ, उत्पादनशील र सुरक्षित राख्न मद्दत गर्दछ।
विकसित देशहरूले आयातित खाद्य तथा पशुजन्य उत्पादनमा विषाक्त पदार्थको मात्रा कडाइका साथ परीक्षण गर्ने भएकाले खाद्य सुरक्षा, निर्यात प्रवर्द्धन तथा उपभोक्ता स्वास्थ्य संरक्षणका लागि पशु आहारा परीक्षण आजको आवश्यकता बनेको छ। त्यसैले आधुनिक, दिगो र व्यावसायिक पशुपालनका लागि पशु आहारा परीक्षण कुनै विकल्प नभई अपरिहार्य आवश्यकता हो।
पशु पोषण अडिट (Livestock Nutrition Audit): नयाँ सोच, नयाँ अभ्यास
देशको कुल पशुधन सङ्ख्या र उपलब्ध पशु आहारा स्रोतको विश्लेषणले पशु आहाराको गम्भीर अभाव रहेको देखाएको छ। पशुहरूलाई आवश्यक पर्ने सुख्खा पदार्थ (Dry Matter) ३३ प्रतिशत, कच्चा प्रोटिन (Crude Protein) ३८ प्रतिशत र कुल पाच्य पदार्थ (Total Digestible Nutrients) २९ प्रतिशतले न्यून रहेको छ (NAFLQML, 2019)।
यस्तो अवस्थामा केवल आहाराको गुणस्तर परीक्षण मात्र पर्याप्त हुँदैन; पशुलाई वास्तवमा आवश्यक पोषण प्राप्त भइरहेको छ वा छैन भन्ने मूल्याङ्कन पनि उत्तिकै आवश्यक हुन्छ। यही आवश्यकतालाई सम्बोधन गर्ने वैज्ञानिक विधि हो पशु पोषण अडिट (Livestock Nutrition Audit)। पशु आहारा परीक्षणले आहाराको पोषण गुणस्तर र सुरक्षा मापन गर्छ भने पशु पोषण अडिटले उपलब्ध पोषण र पशुको वास्तविक आवश्यकताबीचको अन्तर (Nutrient Gap) पहिचान गरी सुधारका उपाय सुझाउँछ।
पशु पोषण अडिट आधुनिक पशुपालन व्यवस्थापनको एक वैज्ञानिक र तथ्यमा आधारित उपकरण हो, जसले परम्परागत अनुमानमा आधारित खुवाइ प्रणालीलाई डेटा-आधारित पोषण व्यवस्थापनमा रूपान्तरण गर्छ। अडिटका क्रममा पशुको जात, उमेर, तौल, उत्पादन अवस्था, प्रजनन अवस्था, दैनिक दूध वा तौल वृद्धि, उपलब्ध घाँस, दाना, कृषि उपउत्पादन तथा पूरक आहारको विस्तृत विवरण सङ्कलन गरिन्छ।
त्यसपछि पशुको शारीरिक तथा उत्पादन अवस्थाअनुसार आवश्यक ऊर्जा, प्रोटिन, खनिज र अन्य पोषकतत्त्वहरूको गणना गरी उपलब्ध पोषणसँग तुलना गरिन्छ। यस प्रक्रियाबाट पोषणको कमी (Deficit), अधिकता (Excess) वा सन्तुलन (Balance) को अवस्था स्पष्ट रूपमा पहिचान गर्न सकिन्छ।
उदाहरणका लागि, कुनै गाईले दैनिक १५ लिटर दूध उत्पादन गरिरहेको छ भने त्यसका लागि आवश्यक ऊर्जा र प्रोटिनको मात्रा गणना गरिन्छ। यदि उपलब्ध दाना तथा घाँसबाट आवश्यक पोषणको ८० प्रतिशत मात्र प्राप्त भइरहेको छ भने बाँकी २० प्रतिशत पोषण पूर्ति गर्न उपयुक्त आहारा वा पूरक पदार्थ सिफारिस गरिन्छ। यसले पशुको उत्पादन क्षमता वृद्धि गर्नुका साथै अनावश्यक आहारा खर्च घटाउन मद्दत गर्दछ।
पशु पोषण अडिटका लाभ बहुआयामिक छन्। पशुपालनमा कुल उत्पादन लागतको करिब ६०-७० प्रतिशत हिस्सा आहारामा खर्च हुने भएकाले अडिटले आहाराको अपव्यय कम गरी स्थानीय स्रोतमा आधारित सन्तुलित र किफायती रासन निर्माण गर्न सहयोग पुर्याउँछ। सही पोषण व्यवस्थापनले दूध, मासु तथा अन्य उत्पादनमा वृद्धि ल्याउने, पशुको वृद्धि दर सुधार गर्ने तथा बजारयोग्य तौल छिटो प्राप्त गर्न मद्दत गर्दछ।
त्यस्तै, खनिज तथा सूक्ष्म पोषकतत्त्वको कमी पहिचान गरी सुधार गर्दा प्रजनन क्षमता बढ्ने, बाँझोपनका समस्या घट्ने, ब्याउने अन्तराल छोटिने तथा स्वस्थ बाच्छाबाच्छी उत्पादनमा सहयोग पुग्छ। सन्तुलित पोषणले रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाई विभिन्न रोग तथा मेटाबोलिक विकारहरूको जोखिम पनि कम गर्छ।
पोषण अडिटको अर्को महत्वपूर्ण पक्ष वातावरणीय दिगोपन हो। पशुलाई आवश्यकताभन्दा बढी वा कम पोषण खुवाउँदा पोषकतत्त्वको अपव्यय हुने र वातावरणमा नाइट्रोजन, फस्फोरस तथा हरितगृह ग्यास उत्सर्जन बढ्ने सम्भावना हुन्छ।
अडिटले पशुलाई आवश्यक मात्रामा पोषण उपलब्ध गराई पोषकतत्त्वको निष्कासन तथा मिथेन उत्सर्जन घटाउन मद्दत गर्दछ। यसरी पशु पोषण अडिटले पशु स्वास्थ्य, उत्पादन, प्रजनन, आर्थिक लाभ र वातावरणीय संरक्षणलाई एकैसाथ सम्बोधन गर्ने आधुनिक व्यवस्थापन अभ्यासको रूपमा महत्वपूर्ण भूमिका खेल्दछ। नेपालमा पशु आहारा अभाव र उत्पादन लागतको चुनौतीलाई ध्यानमा राख्दा पशु पोषण अडिटलाई नीति, अनुसन्धान तथा विस्तार सेवामा प्राथमिकताका साथ समावेश गर्नु समयको आवश्यकता हो।
छुर्पी निर्यात र पशु पोषण अडिट
नेपालको छुर्पी उद्योग अहिले विश्व बजारमा विस्तार भइरहेको छ। विशेष गरी कुकुरका लागि च्युइङ फुड (Dog Chew) का रूपमा नेपाली छुर्पीको माग उल्लेखनीय छ। तर अन्तर्राष्ट्रिय बजारमा टिक्न केवल उत्पादन बढाएर पुग्दैन; गुणस्तर र खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्छ।छुर्पीको गुणस्तर प्रत्यक्ष रूपमा दूधको गुणस्तरमा निर्भर हुन्छ।
दूधको गुणस्तर पशुको स्वास्थ्य र पोषणमा निर्भर हुन्छ। त्यसैले गुणस्तरीय छुर्पी उत्पादनको आधार पशु पोषण अडिट नै हो। यदि किसानले वैज्ञानिक पोषण व्यवस्थापन अपनाए भने दूधमा प्रोटिन तथा ठोस पदार्थको मात्रा बढ्छ, जसले छुर्पी उत्पादनको रिकभरी तथा गुणस्तर सुधार गर्दछ।कोशी प्रदेशबाट वार्षिक करिब ४ अर्ब रुपैया बराबरको छुर्पी निर्यात हुने गरेको छ। खोरेत रोग नियन्त्रण आयोजना कार्यान्वयनमा रहेकोले अन्तराष्ट्रिय बजारमा निर्यात पहुँचको सम्भावना सिर्जना भएको छ।
पशु पोषण, मानव स्वास्थ्य र One Health अवधारणा
पशु पोषणको चर्चा गर्दा केवल उत्पादनको कुरा गरेर पुग्दैन। आज विश्वभर "One Health" अवधारणाले महत्व पाइरहेको छ, जसले पशु स्वास्थ्य, मानव स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई एकै दृष्टिकोणबाट हेर्छ। मानिसले उपभोग गर्ने दूध, मासु, अण्डा तथा माछाको पोषण गुणस्तर पशुको पोषण अवस्थासँग प्रत्यक्ष सम्बन्धित हुन्छ।
यदि पशुले पर्याप्त प्रोटिन, खनिज तथा भिटामिन प्राप्त गरेको छ भने उत्पादन हुने खाद्य पदार्थको गुणस्तर पनि उच्च हुन्छ। यसको प्रत्यक्ष लाभ बालबालिकाको वृद्धि विकास, महिलाको स्वास्थ्य तथा समग्र पोषण सुरक्षामा पुग्छ।नेपालमा अझै पनि कुपोषण, रक्तअल्पता तथा सूक्ष्म पोषक तत्वको कमी चुनौतीका रूपमा रहेका छन्। पशुजन्य खाद्य पदार्थको गुणस्तर सुधार गर्नु पोषण सुरक्षाको महत्वपूर्ण रणनीति बन्न सक्छ।
खर्क, घाँस र दिगो पोषण व्यवस्थापन
नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रका खर्कहरू पशु पोषणको प्राकृतिक आधार हुन्। याक, चौँरी, भेडा तथा च्यांग्राको उत्पादन प्रणाली यिनै चरन क्षेत्रहरूमा आधारित छ। तर जलवायु परिवर्तन, अव्यवस्थित चरिचरण, वन डढेलो तथा मिचाहा वनस्पतिको विस्तारका कारण खर्कहरूको गुणस्तर घट्दै गएको छ।
पशु पोषण अडिटलाई खर्क व्यवस्थापनसँग जोड्न सकिन्छ। खर्कमा पाइने घाँस तथा वनस्पतिको पोषण विश्लेषण गरी कुन क्षेत्रमा कुन मौसममा कस्तो पोषण उपलब्ध छ भन्ने तथ्यगत आधार तयार गर्न सकिन्छ। यसले चरन व्यवस्थापन, फोडर बैंक स्थापना, मिनरल सप्लिमेन्ट प्रयोग तथा पूरक आहार कार्यक्रमलाई वैज्ञानिक बनाउन मद्दत गर्छ।
नीतिगत आवश्यकता
नेपालमा हाल ११८ भन्दा बढी पशुखाद्य उद्योग सञ्चालनमा छन्। तर दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थको ठूलो हिस्सा विदेशबाट आयात गरिन्छ। यस्तो अवस्थामा स्थानीय स्रोतमा आधारित पशु पोषण व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ।
पशु पोषण अडिटलाई स्थानीय तहसम्म विस्तार गरी प्रत्येक व्यावसायिक फार्ममा पोषण प्रोफाइल तयार गर्ने व्यवस्था गर्न सकिन्छ। राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालासँग समन्वय गरी नियमित आहारा परीक्षण सेवा उपलब्ध गराउनुपर्छ। साथै डिजिटल प्रणाली विकास गरी किसानले मोबाइलमार्फत पोषण परामर्श प्राप्त गर्न सक्ने व्यवस्था आवश्यक छ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशले आर्थिक वर्ष २०८२/८३ देखि पशु आहारा, साइलेज, दाना तथा फिड सप्लिमेन्टहरूको गुणस्तर परीक्षण कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रम अन्तर्गत प्रदेशका विभिन्न जिल्ला धनकुटा, ईलाम, ताप्लेजुङ, सुनसरी, मोरङबाट नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाउने कार्य थालिएको छ।
पशु आहाराको पोषण मूल्य, सुरक्षितता तथा गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको यो पहल सुरक्षित दूध, मासु तथा दुग्धजन्य उत्पादन प्रवर्द्धनतर्फ महत्वपूर्ण कदम हो।यसैगरी, आर्थिक वर्ष २०८३/८४ मा पशु पोषण अडिट कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ।
पशु पोषण अडिटले उपलब्ध आहारा स्रोत र पशुको वास्तविक पोषण आवश्यकता बीचको अन्तर पहिचान गरी वैज्ञानिक आहारा व्यवस्थापनमा सहयोग पुर्याउनेछ।पशु पोषण अडिटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल कृषि अनुसन्धान परिषद् (NARC) ले पनि पशु आहारा, चरन स्रोत, साइलेज, फिड एडिटिभ, स्थानीय स्रोतमा आधारित वैकल्पिक आहारा तथा पोषण व्यवस्थापनसम्बन्धी थप अनुसन्धानलाई प्राथमिकता दिन आवश्यक छ।
अनुसन्धानबाट प्राप्त नतिजालाई नीति, कार्यक्रम र किसानस्तरको अभ्याससँग जोड्न सकेमा उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने तथा गुणस्तरीय दूध, मासु र छुर्पी उत्पादनमा महत्वपूर्ण योगदान पुग्नेछ।
निष्कर्ष
पशुपालनको दिगो भविष्य केवल पशुसंख्या बढाउनुभन्दा उपलब्ध स्रोतहरूको वैज्ञानिक र प्रभावकारी उपयोगमार्फत गुणस्तरीय उत्पादन वृद्धि गर्नमा निर्भर छ। सुरक्षित, सन्तुलित र गुणस्तरीय आहाराविना दूध, मासु, अण्डा तथा छुर्पीजस्ता पशुजन्य उत्पादनको गुणस्तर सुनिश्चित गर्न सकिँदैन।
पशु आहारा परीक्षणले आहाराको पोषण मूल्य र सुरक्षा सुनिश्चित गर्छ भने पशु पोषण अडिटले उपलब्ध पोषण र पशुको आवश्यकताबीचको अन्तर पहिचान गरी उत्पादन, स्वास्थ्य र लाभप्रदता सुधार गर्न मद्दत गर्छ।
नेपालजस्तो पशुपालनमा आधारित अर्थतन्त्रका लागि यी दुवै अभ्यास अब विकल्प होइनन्, अपरिहार्य आवश्यकता हुन्। वैज्ञानिक पशु पोषण व्यवस्थापन, नियमित आहारा परीक्षण र प्रभावकारी पोषण अडिटलाई संस्थागत गर्न सकेमा सुरक्षित खाद्य उत्पादन, मानव पोषण सुरक्षा, दिगो पशुपालन र प्रतिस्पर्धी कृषि अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुग्नेछ।










प्रतिक्रिया थप्नुहोस्