काठमाडौँ, २५ साउन । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका विभिन्न १० वटा तरकारीका नमुना विषादी परीक्षणमा उपभोगयोग्य रहेको पाइएको छ ।
कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले गरेको परीक्षणमा भण्टा, घिरौँला, भिण्डी, घिउ सिमी, भेडे खुर्सानी, रायोको साग, तितेकरेला, बोडी र चिचिण्डोलगायतका १० नमुना परीक्षण गरिएको थियो ।
प्रयोगशालाले २०८३ साउन २४ गते गरेको परीक्षणमा सबै नमुना उपभोगयोग्य श्रेणीमा परेका हुन् । परीक्षण गरिएका नमुनामा धादिङको बैनीघाट रोराङ गाउँपालिकाबाट ल्याइएको भण्टा, घिरौँला, बोडी तथा चिचिण्डो, चितवनको भिण्डी, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको घिउ सिमी, मकवानपुरको थाहा नगरपालिकाको भेडे खुर्सानी तथा भक्तपुरको रायोको सागलगायत छन् ।
यस्तै, धादिङको धुनीबेँसी नगरपालिकाबाट ल्याइएको घिरौँला र तितेकरेलाको नमुना पनि परीक्षण गरिएको थियो । परीक्षणपछि सबै नमुनालाई ‘उपभोग योग्य’ भन्दै बजारमा उपभोगका लागि योग्य रहेको जनाइएको छ ।
प्रयोगशालाको वर्गीकरणअनुसार विषादी अवशेषको रोकावट प्रतिशत ३५ प्रतिशतभन्दा कम भए ‘उपभोग योग्य’, ३५ देखि ४५ प्रतिशतसम्म भए ‘केही दिन रोकेर पुनः परीक्षण गर्ने ९क्वारेन्टाइन०’ र ४५ प्रतिशतभन्दा बढी भए ‘विसर्जन गर्ने’ श्रेणीमा राखिन्छ ।
यसपटक परीक्षण गरिएका सबै १० नमुना ३५ प्रतिशतभन्दा कम रोकावट प्रतिशतमा परेकाले उपभोग योग्य ठहरिएका हुन् ।
प्रयोगशालाले भने परीक्षणमा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादी अवशेष मात्र परीक्षण गरिएको जनाएको छ । त्यसैले अन्य समूहका विषादी तथा रसायनका हकमा उक्त नतिजा लागू नहुने स्पष्ट पारिएको छ ।
कालीमाटी बजारमा नियमित रूपमा तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण हुँदै आएको छ । पछिल्लो समय केही नमुनामा मापदण्डभन्दा बढी विषादी भेटिएर नष्ट गर्नुपर्ने अवस्था देखिए पनि सबै नमुना विषादीको उच्च जोखिममा नरहेको परीक्षण परिणामले देखाउने गरेको छ ।
















प्रतिक्रिया थप्नुहोस्