काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा आकस्मिक (र्यापिड रेस्पोन्स मोडालिटी) बजार अनुगमनअन्तर्गत ललितपुरका तीन खाद्य व्यवसायमा निरीक्षण गरी आवश्यक निर्देशन दिएको छ ।
विभागका अनुसार साउन ५ गते गरिएको अनुगमनमा नाङ्लो बेकरीज प्रालि (गोदावरी–१४), एग्रो थाई फुड्स प्रालि (ललितपुर–६) र मुगल ईम्पायर होटल प्रालि (ललितपुर–३) मा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निरीक्षण गरिएको हो ।
नाङ्लो बेकरीमा उजुरीमा उल्लेख गरिएअनुसार पाउरोटीमा सिसाको टुक्रा भने फेला परेन । उद्योगमा सरसफाइ सन्तोषजनक, कीट नियन्त्रणको व्यवस्था तथा प्रयोगशाला रहेको पाइएको भए पनि भुइँमा टायल नलगाइएको भेटिएको विभागले जनाएको छ । विभागले उत्पादनअघि अनिवार्य गुणस्तर परीक्षण गर्न, भुइँमा टायल लगाउन, भित्ता सफा राख्न तथा प्रत्यक्ष जोखिम हुने स्थानमा तत्काल सीसीटीभी जडान गर्न निर्देशन दिएको छ । साथै थप अनुसन्धानका लागि पाउरोटीको नमुना प्रयोगशाला परीक्षणमा पठाउन संकलन गरिएको छ ।
यस्तै, एग्रो थाई फुड्स प्रालिमा निरीक्षणका क्रममा X-treme र Max-tiger ब्रान्डका इनर्जी ड्रिङ्क उत्पादन भइरहेको पाइएको छ । उद्योगको प्रशोधन तथा भण्डारण कक्ष व्यवस्थित रहे पनि सरसफाइमा थप सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ । उजुरीमा उल्लेख गरिएको ORS (Oral Rehydration Solution) भने छ महिनाभन्दा बढी समयदेखि उत्पादन नगरेको पाइएको छ । विभागले खाद्य स्वच्छता कायम गरेर मात्र उत्पादन तथा बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
त्यसैगरी मुगल ईम्पायर होटलमा भान्साको Exhaust Fan बिग्रिएको अवस्थामा भेटिएको छ । होटलको सरसफाइ, भान्सा, भण्डारण कक्ष तथा फ्रिजको अवस्था सामान्यदेखि सन्तोषजनक रहेको विभागले जनाएको छ । होटललाई सरसफाइमा विशेष ध्यान दिन, पूर्ण रूपमा छोपिने फोहोरदानी प्रयोग गर्न तथा स्वच्छता मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ । निरीक्षणका क्रममा होटलले अनलाइन अर्डरमार्फत सेवा दिने ग्राहकलाई निःशुल्क French Fries उपलब्ध गराउँदै आएको समेत पाइएको विभागले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै खाद्य स्वच्छता र गुणस्तरका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। यस चरणमा विभागले कुल तीन वटा खाद्य व्यवसायको अनुगमन गरेको जनाएको छ ।



2026-10-02-03-10-26.jpeg)












प्रतिक्रिया थप्नुहोस्