खाद्य अनुगमनमा कडाइः एक वर्षमा १२७ नमुना प्रतिकूल, १४२ व्यवसायीविरुद्ध मुद्दा

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८२/८३ मा खाद्य स्वच्छता तथा गुणस्तर नियमनलाई प्रभावकारी बनाउने क्रममा ३ हजार ३६५ वटा खाद्य नमुना संकलन गरी परीक्षण गरेको छ । संकलित नमुनामध्ये २ हजार ९४८ वटा परीक्षण गर्दा १२७ वटा अर्थात् ४.३० प्रतिशत नमुना प्रतिकूल पाइएको विभागको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

विभागका अनुसार प्रतिकूल भेटिएका नमुनामा खाद्यान्न तथा दलहनका ४७, प्रशोधित पिउने पानीका २१, दूध तथा दुग्ध पदार्थका १७, फलफूल तथा सागपातजन्य पदार्थका १०, तेल तथा घ्यूजन्य पदार्थका ९, मसलाका ७, दाना पदार्थका १०, कन्फेक्सनरीका ३, गुलियो पदार्थका २ र चिया तथा कफीको एक नमुना रहेका छन् ।

न्यूनस्तर तथा दूषित खाद्य तथा दाना पदार्थ उत्पादन वा बिक्री वितरण गरेको कसुरमा विभागले १४२ खाद्य तथा दाना व्यवसायीविरुद्ध जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । तीमध्ये ७३ वटा मुद्दा न्यून गुणस्तरयुक्त खाद्य पदार्थ, ३२ वटा दूषित खाद्य पदार्थ, १२ वटा ऐन, नियम तथा निर्देशिका उल्लङ्घन र २५ वटा लेबलसम्बन्धी रहेका छन् ।

उक्त अवधिमा विभाग तथा मातहतका कार्यालयले खाद्य तथा दाना उद्योग, होटल तथा रेस्टुरेन्ट र राजमार्गका होटलविरुद्ध प्राप्त उजुरी तथा गुनासो सम्बोधन गर्ने क्रममा १२ हजार ८०६ पटक निरीक्षण तथा अनुगमन गरेका छन् । साथै खाद्य स्वच्छता सर्भिलेन्सका लागि ४ हजार ३९१ वटा नमुना संकलन गरिएको छ ।

खाद्य उद्योगको नियमनतर्फ एक वर्षमा ७३२ वटा उद्योगको अनुमतिपत्र जारी, १ हजार ७३१ वटा अनुमतिपत्र नवीकरण तथा १ हजार ७३४ वटा खाद्य उद्योग स्थापना गर्न सिफारिस गरिएको छ । यसरी कुल ४ हजार २४७ उद्योगसम्बन्धी अनुमति, नवीकरण तथा दर्ता सिफारिसको काम भएको विभागले जनाएको छ ।

७४ हजार तरकारी तथा फलफूलमा विषादी परीक्षण

विभागले आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक बजार तथा आयात हुने प्रवेशबिन्दुबाट संकलित ७४ हजार ९४ वटा ताजा तरकारी तथा फलफूलको द्रुत परीक्षणमार्फत विषादी अवशेष जाँच गरेको छ। परीक्षण गरिएका नमुनामध्ये २९ वटा प्रतिकूल पाइएको छ ।

प्रतिकूल पाइएका नमुनामा आलु, आँप, स्याउ, सुन्तला, सिमी, हरियो केराउ, अम्बा, बयर, बन्दा, भेंडे खुर्सानी, कागती, फर्सी, गाजर, हरियो खुर्सानी र ताजा नरिवल रहेका छन् ।

विभागले जीसीएमएस–एमएस उपकरणबाट ७५ वटा विभिन्न तरकारी तथा फलफूलको विषादी परीक्षण गर्दा नौवटा र ५० वटा चामलका नमुना परीक्षण गर्दा एकवटामा Chlorpyrifos र Malathion भेटिए पनि ती विषादीको मात्रा तोकिएको मापदण्डभित्रै रहेको जनाएको छ । एलसीएमएस–एमएसबाट परीक्षण गरिएका १४ वटा तरकारी तथा फलफूलका सबै नमुना पनि मापदण्डअनुकूल पाइएको छ ।

२९ पटक खाद्य पदार्थ रिकल

विभागले आर्थिक वर्षमा विभिन्न खाद्य पदार्थ बजारबाट फिर्ता (रिकल) गर्न २९ पटक आदेश जारी गरेको छ । पफ, क्रोसान्ट, धुलो मिक्स मसला, प्रशोधित पिउने पानी, फलफूलको पेय पदार्थ, क्यान्डी, दालमोठ, चिया, चाउचाउ, बिस्कुट, आइसक्रिम, मह, तोरीको तेल, प्रशोधित फ्लेभर्ड दूध र करी पाउडरलगायत खाद्य पदार्थ रिकल गरिएको विभागले जनाएको छ ।

त्यस्तै निरीक्षणका क्रममा उपभोग्य मिति समाप्त भएका, पूर्ण लेबल विवरण नभएका तथा खाद्य अनुमतिपत्र नलिएका रु. ८६ लाख ३१ हजार ६०१ बराबरका खाद्य पदार्थ जफत तथा नष्ट गरिएको छ ।

प्रयोगशालाबाट २७ हजारभन्दा बढी नमुना परीक्षण

विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला तथा मातहतका खाद्य प्रयोगशालाबाट आर्थिक वर्षमा २७ हजार ४९७ वटा नमुनाको प्रयोगशाला परीक्षण गरिएको छ । प्रयोगशालाले ६७२ वटा रासायनिक तथा १४२ वटा सूक्ष्मजीवसम्बन्धी गरी कुल ८१४ वटा प्यारामिटर परीक्षणका लागि ISO/IEC 17025:2017 एक्रिडिटेसनसमेत नवीकरण गरेको छ ।
खाद्य आयात नियमनतर्फ एक वर्षमा १८ हजार ९४० वटा खाद्य पदार्थको कन्साइन्मेन्टलाई आयात स्वीकृति दिइएको छ भने आवश्यक कागजात पूरा नभएका ४२६ वटा कन्साइन्मेन्टको अनुमति अस्वीकृत गरिएको छ । आयातका क्रममा परीक्षण गरिएका ६३ हजार १८५ नमुनामध्ये २९ वटा प्रतिकूल पाइएपछि सम्बन्धित भन्सार कार्यालयलाई आयात गर्न नमिल्ने जानकारी गराइएको विभागले जनाएको छ ।

यसैगरी खाद्य निर्यात सहजीकरणका लागि १२६ वटा खाद्य सुरक्षा तथा गुणस्तर प्रमाणपत्र जारी गरिएको छ । निर्यात प्रयोजनका लागि प्राप्त ५०६ वटा नमुना विभिन्न देशतर्फ निर्यात हुने खाद्य पदार्थसँग सम्बन्धित रहेको विभागले जनाएको छ ।

विभागले काठमाडौं महानगरपालिकालगायत स्थानीय तहसँगको सहकार्यमा खाद्य बजार, होटल तथा रेस्टुरेन्टको अनुगमनलाई थप प्रभावकारी बनाएको जनाएको छ । काठमाडौं महानगरपालिकासँग भएको सहमतिपछि संयुक्त रूपमा मोबाइल प्रयोगशाला भ्यान परिचालन गरी अनुगमन भइरहेको विभागको विवरणमा उल्लेख छ ।

होटल तथा रेस्टुरेन्टको स्तरीकरणतर्फ आर्थिक वर्षमा ४२९ वटा होटल तथा रेस्टुरेन्टलाई लोगो वितरण गरिएको छ । तीमध्ये ८५ वटा अति उत्तम, १०२ वटा उत्तम, १४१ वटा सन्तोषजनक, ७४ वटा सामान्य र २७ वटा स्तरीकरणमा नपरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै