काठमाडौँ, २६ साउन । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका विभिन्न तरकारीका १० नमुनामा गरिएको विषादी अवशेष द्रुत विश्लेषण परीक्षणबाट सबै नमुना उपभोगयोग्य रहेको पाइएको छ ।
केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले २०८३/०४/२६ गते गरेको परीक्षणको नतिजाअनुसार काँक्रो, लौका, भान्टा, काउली, घिउसिमी, बन्दागोभी, गोलभेडा र मुलालगायतका १० नमुना परीक्षण गरिएको थियो ।
प्रयोगशालाका अनुसार दक्षिणकाली नगरपालिका-काठमाडौं, नुवाकोट, चितवन, थाहा नगरपालिका–मकवानपुर, कागेश्वरी मनोहरा नगरपालिका–काठमाडौं, चन्द्रागिरि नगरपालिका–काठमाडौं र भीमेश्वर नगरपालिका-दोलखालगायतका क्षेत्रबाट आएका तरकारीका नमुना परीक्षण गरिएको हो ।
परीक्षण गरिएका नमुनामा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादी अवशेषको मात्रा परीक्षण गरिएको थियो । प्रयोगशालाले सबै १० नमुनालाई उपभोगयोग्य अर्थात् तत्काल उपभोग गर्न मिल्ने अवस्थामा रहेको जनाएको छ ।
प्रयोगशालाले विषादी अवशेषको रोकावट प्रतिशतसम्बन्धी मापदण्डमा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर पुनः परीक्षण गर्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए विसर्जन गर्नुपर्ने उल्लेख गरेको छ ।
तर, परीक्षण गरिएका केही नमुनामा कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादी मात्र परीक्षण भएकाले अन्य विषादी तथा रसायनको हकमा उक्त नतिजा लागू नहुने प्रयोगशालाले स्पष्ट पारेको छ ।
















प्रतिक्रिया थप्नुहोस्