रसुवामा भोटेकोशीको भीषण बाढी : टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बिहान करिब ९ बजेतिर तिब्बततर्फबाट ठूलो मात्रामा पानी भोटेकोशीमा प्रवेश गरेपछि नदीले उग्र रूप लिएको हो । बाढीका कारण बजार क्षेत्रका घर तथा विभिन्न भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

बाढीको सबैभन्दा ठूलो प्रभाव टिमुरे क्षेत्रमा परेको छ । स्थानीयका अनुसार बाढीले टिमुरे बजारका धेरै घर तथा संरचना बगाएको छ । रसुवा भन्सार कार्यालयको क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । भन्सार क्षेत्रमा रहेका सवारीसाधन तथा अन्य सामग्रीसमेत बाढीले बगाएको प्रारम्भिक विवरण छ । रसुवाका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाका अनुसार भन्सार क्षेत्र र बजारमा ठूलो क्षति भएको छ ।

बाढीले टिमुरेमा रहेको सुरक्षा निकायका संरचनामा समेत असर पारेको छ । प्रारम्भिक विवरणअनुसार टिमुरेमा खटिएका १५ जना प्रहरीमध्ये आठ जना मात्रै सम्पर्कमा आएका छन् । बाँकी प्रहरीको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ । प्रभावित क्षेत्रमा सञ्चार तथा सडक सम्पर्कसमेत प्रभावित भएकाले क्षतिको पूर्ण विवरण तत्काल प्राप्त हुन कठिन भइरहेको अधिकारीहरूले बताएका छन् ।

बाढीले स्याफ्रुबेँसी क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ । बजार तथा नदी आसपासका बस्तीमा बाढी पसेको स्थानीयले बताएका छन् । भोटेकोशी नदीको बहावसँगै तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ । यसलाई ध्यानमा राख्दै प्रशासनले रसुवा हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढीको स्रोत र कारणबारे भने अहिलेसम्म यकिन हुन सकेको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले अचानक ठूलो बाढी आएको र माथिल्लो क्षेत्रमा हिमताल फुटेको हो कि भन्ने आशंका भए पनि त्यसबारे पुष्टि भइनसकेको बताएका छन् । सदरमुकाम धुन्चे आसपासमा त्यति ठूलो वर्षा नभए पनि माथिल्लो क्षेत्रमा अचानक बाढी देखिएको प्रशासनले जनाएको छ ।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले तिब्बततर्फबाट बिहान करिब ९ः१५ बजे ठूलो बाढी भोटेकोशीमा प्रवेश गरेको जनाउँदै त्रिशूली नदीको तटीय क्षेत्रमा मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदी किनारमा नजान तथा जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ जान प्रशासनले अनुरोध गरेको छ ।

बाढीको सम्भावित असरलाई ध्यानमा राख्दै धादिङ प्रशासनले समेत त्रिशूली नदी आसपासका बस्ती तथा क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । नदीको बहाव बढ्न सक्ने भएकाले मुग्लिनसम्मका तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित रहन भनिएको छ ।

बाढीका कारण सडक तथा यातायात सम्पर्कमा समेत समस्या देखिएको छ । गृह मन्त्रालयले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा आवतजावत रोक्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

घटनापछि उद्धार तथा राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय प्रशासन परिचालन भएका छन् । प्रभावित क्षेत्रको अवस्था बुझ्ने, सम्पर्कविहीन व्यक्तिको अवस्था पत्ता लगाउने र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । अर्थ मन्त्रालयको नेतृत्वमा समेत टिमुरे भन्सार कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धारका काम अघि बढाइएको जनाइएको छ ।

सरकारले रसुवा र आसपासका नदी तटीय क्षेत्रमा थप जोखिम हुनसक्ने भन्दै सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा रहन र जोखिम न्यूनीकरणका सबै उपाय अपनाउन सम्बन्धित निकायलाई भनिएको छ ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी छ । प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले थप विवरण प्राप्त भएपछि मात्र क्षतिको वास्तविक अवस्था स्पष्ट हुने प्रशासनले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै