डोटीको गौरव ‘जोरायले बासमती’ लोकप्रिय बन्दै, रोपाइँमा किसानको उत्साह

डोटी, ८ असार । सुदूरपश्चिम प्रदेशको पहिचान बोकेको र सुगन्धित चामलका लागि प्रसिद्ध जोरायले बासमती धान पछिल्लो समय पुनः लोकप्रिय बन्दै गएको छ । स्थानीय तह, कृषि निकाय तथा विभिन्न सङ्घसंस्थाले यसको संरक्षण र प्रवर्द्धनका लागि अभियान सञ्चालन गरेपछि किसानहरू यस धानको खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

डोटीको जोरायल गाउँपालिका–३ र ४ का उपत्यकाक्षेत्रमा परम्परागत रूपमा उत्पादन हुँदै आएको जोरायले बासमती केही वर्षअघि लोपोन्मुख अवस्थातर्फ पुगेको थियो । तर संरक्षणका प्रयाससँगै यस वर्ष किसानहरूले उत्साहपूर्वक रोपाइँ सुरु गरेका छन् । रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला र पिपलकण्डेललगायतका क्षेत्रमा किसानहरू यतिबेला रोपाइँमा व्यस्त छन् ।

सुगन्धित र स्वादिष्ट चामलका कारण जोरायले बासमतीको माग स्थानीय बजारदेखि देशका अन्य भागसम्म फैलिएको छ । यसबाट बन्ने भात तथा विभिन्न परिकार विशेष स्वादिष्ट हुने भएकाले उपभोक्तामाझ यसको लोकप्रियता बढ्दो छ ।

जोरायल गाउँपालिका अध्यक्ष दुर्गा ओझाले स्थानीय जातको संरक्षणलाई प्राथमिकता दिँदै पालिकाले बजेटमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । उनका अनुसार आगामी दिनमा जिल्लाका अन्य उपयुक्त क्षेत्रमा समेत यसको उत्पादन विस्तार गर्ने योजना छ ।

कृषि विज्ञहरूका अनुसार वैदिककालदेखि जोरायल क्षेत्रमा मात्रै उत्पादन हुँदै आएको यो धान स्थानीय इतिहास र पहिचानसँग जोडिएको छ । यही धानको नामबाट ‘जोरायल’ नामकरण भएको विश्वाससमेत गरिन्छ ।

कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले नेपालमा पाइने अन्य बासमती धानभन्दा जोरायले बासमती फरक र विशिष्ट रहेको बताए। स्वास्थ्यका दृष्टिले पनि लाभदायी मानिने भएकाले यसको संरक्षण आवश्यक रहेको उनको भनाइ छ ।

यस वर्ष समयमै मनसुन सुरु भएकाले जेठ ५ गतेदेखि नै रोपाइँ प्रारम्भ भएको थियो । सिँचाइ सुविधा भएका क्षेत्रमा अहिले धमाधम रोपाइँ भइरहेको छ । जोरायल गाउँपालिका–३ का वडाध्यक्ष नवीन ओझाका अनुसार पर्याप्त वर्षा र सिँचाइ उपलब्ध भए उत्पादन अझ बढ्ने अपेक्षा गरिएको छ ।

कृषि ज्ञान केन्द्र डोटीका अनुसार जोरायले बासमती धान हाल करिब ८०० हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । प्रदेश कृषि विकास निर्देशनालयले पनि समयमै वर्षा भएका कारण यस वर्ष रोपाइँ छिटो सम्पन्न भइरहेको जनाएको छ ।

यस वर्ष किसानहरूले परम्परागत गोरु जोत्ने प्रणालीभन्दा मिनिटिलर तथा हातेट्याक्टरको प्रयोग बढाएका छन् । यान्त्रिकीकरणले श्रम, समय र लागत बचत हुने भएकाले कृषकहरू आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।

यद्यपि उत्पादन विस्तारमा केही चुनौतीहरू अझै कायम छन् । जोरायले बासमती अन्य धानभन्दा करिब एक महिना ढिलो पाक्ने, उत्पादन कम हुने तथा व्यवस्थित बजार अभावका कारण धेरै किसान यसतर्फ आकर्षित हुन नसकेको स्थानीय कृषकहरू बताउँछन् । तर यसको स्वाद, सुगन्ध र गुणस्तरका कारण बजार माग भने निरन्तर बढिरहेको छ ।

हाल नेपालका विभिन्न सहरसँगै भारतका केही बजारमा समेत जोरायले बासमती चामल बिक्री हुन थालेको छ। यसको बजार मूल्य प्रतिकिलो करिब १२० रुपैयाँ रहेको व्यापारीहरू बताउँछन् ।

किसानहरूले जोरायले बासमतीलाई राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्दै संरक्षण, प्रवर्द्धन र बजार व्यवस्थापनमा सरकारको थप सहयोग आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार उचित नीति र बजारको सुनिश्चितता भए यो रैथाने धान सुदूरपश्चिमको आर्थिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित हुन सक्छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै