काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले साउन ६ गते गरेको अनुगमनमा ललितपुरका दुई बेकरी सर्टेनिङ प्याकेजिङ उद्योगले विभागको निर्देशन पालना गरेको पाइएको छ ।
विभागका अनुसार गोदावरी नगरपालिका–११ स्थित बज्रबाराही बेकरी सर्टेनिङ तथा घिउ प्याकेजिङ उद्योग र सुनाकोठी-२७ स्थित संयक बेकरी सर्टेनिङ घिउ प्याकेजिङ उद्योग प्रालि मा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निरीक्षण गरिएको थियो ।
अनुगमनका क्रममा बज्रबाराही बेकरीले विभागको २०८३ वैशाख १४ गतेको सूचनाअनुसार कम तौल भएका १० केजी प्याकेजिङका बेकरी सर्टेनिङ फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको र हाल उक्त उत्पादन नगरेको पाइएको विभागले जनाएको छ । निरीक्षणका क्रममा कच्चा पदार्थ वा तयार अवस्थामा बेकरी सर्टेनिङ भेटिएको थिएन ।
त्यसैगरी संयक बेकरीको भण्डारण कक्षमा बजारबाट फिर्ता गरिएका एक केजी, ५०० ग्राम र २०० ग्रामका १५ कार्टुन बेकरी सर्टेनिङ सुरक्षित राखिएको भेटिएको छ । उद्योगले हाल बेकरी सर्टेनिङ उत्पादन नगरेको पनि अनुगमनमा पुष्टि भएको विभागले जनाएको छ ।
विभागका अनुसार दुवै उद्योगले विभागको निर्देशनअनुसार १० केजीभन्दा कम तौलको बेकरी सर्टेनिङ उत्पादन तथा बिक्री–वितरण नगरेको पाइएको छ । यस पटकको अनुगमनमा दुई वटा खाद्य व्यवसाय निरीक्षण गरिएको विभागले जनाएको छ ।
















प्रतिक्रिया थप्नुहोस्