माटोको उर्वराशक्ति जोगाउन शुक्लाफाँटामा गड्यौला मल अभियान

कञ्चनपुर, २७ जेठ । रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएपछि किसानहरू गड्यौला मलतर्फ आकर्षित हुन थालेका छन् । उत्पादनको गुणस्तर सुधार, माटोको स्वास्थ्य संरक्षण तथा अतिरिक्त आम्दानीको सम्भावनाका कारण गड्यौला मलको प्रयोग र उत्पादन विस्तार हुँदै गएको छ ।

किसानलाई प्राङ्गारिक खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले ‘एक वडा, एक उद्यम’ कार्यक्रमअन्तर्गत गड्यौला मल उत्पादनसम्बन्धी तालिम सञ्चालन गरेको छ । गैरसरकारी संस्था निड्स नेपालको सहकार्यमा हालै २५ जना किसानलाई तीनदिने सैद्धान्तिक तथा प्रयोगात्मक तालिम प्रदान गरिएको हो । तालिममा मल उत्पादन प्रक्रिया, यसको महत्व, व्यावसायिक सम्भावना तथा बजारीकरणका विषयमा जानकारी गराइएको थियो ।

तालिमका प्रशिक्षक तथा गड्यौला मल उत्पादक वीरबहादुर हमालले रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा रहेका उपयोगी जीवाणु नष्ट हुनुका साथै उत्पादन लागत बढाउने समस्या सिर्जना गरेको बताए । उनका अनुसार गड्यौला मल बिरुवाका लागि आवश्यक पोषकतत्वले भरिपूर्ण हुने भएकाले यसलाई ‘बिरुवाको तयारी खाना’ समेत भनिन्छ ।

हमालका अनुसार गड्यौला मलमा नाइट्रोजन, फस्फोरस, पोटास, जिंक, क्याल्सियम, बोरोनलगायत १३ प्रकारका आवश्यक पोषकतत्व पाइन्छन् । यसले माटोको संरचना सुधार्ने, पानी धारण क्षमता बढाउने तथा जैविक सक्रियता वृद्धि गर्न सहयोग पुर्याउँछ ।

हाल तरकारी, फलफूल, कौसीखेती तथा नर्सरी सञ्चालन गर्ने किसानबीच गड्यौला मलको माग बढ्दै गएको छ । “पहिले यसको महत्व बुझाउन कठिन थियो, अहिले मागअनुसार आपूर्ति गर्न समस्या हुन थालेको छ,” हमालले भने ।

नेपालगन्जमा विसं २०७१ देखि गड्यौला मल उत्पादन गर्दै आएका हमालले वार्षिक ६४ टन मल उत्पादन गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १० जिल्लामा आपूर्ति गर्दै आएका छन् । उनले यस व्यवसायबाट वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए ।

उनका अनुसार गड्यौला मल उत्पादनका लागि ठूलो लगानी आवश्यक पर्दैन । गोबर, जैविक फोहोर र गड्यौलाको बीउ प्रयोग गरी खुला स्थान वा सेडमा सजिलै उत्पादन गर्न सकिन्छ । बजारमा गड्यौला मल प्रतिकिलो ३० देखि ३५ रुपैयाँ र गड्यौलाको बीउ प्रतिकिलो दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाले गड्यौला मल उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना अघि सारेको छ । नगरपालिकाको उद्यम शाखा प्रमुख धनबहादुर चौधरीका अनुसार शुक्लाफाँटा-९ स्थित सामुदायिक गौशालामा २८ वटा गड्यौला मल उत्पादन पिट निर्माण गरिएका छन् । गौशालाबाट निस्कने गोबरको सदुपयोग गर्दै व्यावसायिक उत्पादन बढाउने लक्ष्य राखिएको उनले बताए ।

तालिममा सहभागी किसान ललितबहादुर साउदले गड्यौला मल उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त भएको बताउँदै अब घरमै मल उत्पादन गरी प्रयोग तथा बिक्री गर्ने योजना बनाएको बताए ।

निड्स नेपालद्वारा सञ्चालित ‘दिगो आम्दानीद्वारा महिला उद्यमी सशक्तीकरण परियोजना’ अन्तर्गत शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगरपालिकाका किसान तथा महिलालाई पनि यस्ता तालिम प्रदान गरिँदै आएको छ । परियोजना संयोजक हेमन्त शाहीका अनुसार किसानलाई प्रत्यक्ष अभ्यासमार्फत सिकाइने भएकाले उनीहरूमा गड्यौला मल उत्पादनप्रति उत्साह बढेको छ ।

विशेषज्ञहरूका अनुसार गड्यौला मलको प्रयोगले रासायनिक मलमा निर्भरता घटाउने, माटोको स्वास्थ्य सुधार गर्ने, उत्पादनको गुणस्तर बढाउने तथा वातावरण संरक्षणमा समेत योगदान पुर्याउने भएकाले यसको महत्व दिनप्रतिदिन बढ्दै गएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै