भजनी, २० फागुन । टीकापुर नगरपालिका–८ का पुनिराम थारू विगत पाँच वर्षदेखि कर्णाली नदी किनारमा बगरखेती गर्दै आएका छन् । सिँचाइको सहज पहुँच र राम्रो उत्पादन हुने भएकाले उनले नदी किनार तथा टापु क्षेत्रको सदुपयोग गर्दै प्याजखेतीलाई प्राथमिकता दिएका हुन् ।
उनले बर्सेनि नदी टापुबाट १० देखि १२ क्विन्टलसम्म प्याज उत्पादन गर्दै आएका छन् । प्याजसँगै धनिया, मकै, बन्दागोभी र टमाटरसमेत उत्पादन हुने गरेको छ । “बालुवामा प्याजले राम्रो उत्पादन दिन्छ । प्याजलाई धेरै सिँचाइ चाहिने भएकाले नदी नजिक सिँचाइ सहज हुँदा उत्पादन राम्रो हुन्छ,” पुनिराम भन्छन्, “पहिले खेर गइरहेको बगर अहिले आम्दानीको स्रोत बनेको छ ।”
टीकापुर र राजापुर जोड्ने सत्ती पुल आसपास क्षेत्र अहिले हरियालीले ढाकिएको छ । ढुङ्गारहित बालुवामा साना–साना प्लट बनाएर लहरै प्याजखेती गरिएको छ । वडा नं. ८ फाँटागाउँका करिब ५०–६० घरपरिवारले नदी किनार तथा टापुमा प्याजखेती गर्दै आएका छन् । बर्सेनि किसान र क्षेत्रफल दुवै बढ्दै गएको छ । यहाँबाट वार्षिक रूपमा करिब ७०० क्विन्टलभन्दा बढी प्याज उत्पादन हुने गरेको अनुमान छ ।
स्थानीय सम्झनी चौधरीका अनुसार एक परिवारले न्यूनतम पाँच–छ क्विन्टल प्याज उत्पादन गर्छन् । “अन्य खेतबारीको तुलनामा बगरमा गरिएको प्याजखेतीबाट राम्रो उत्पादन हुन्छ,” उनले भनिन्, “अहिले खेती गर्ने किसानको संख्या र क्षेत्रफल दुवै बढेको छ ।”
बटनपुरकी सम्पुर्णी चौधरीले यस वर्ष पहिलोपटक नदी टापुमा प्याजखेती सुरु गरेकी छन् । गत वर्ष अरूको सफल खेती देखेपछि उनले पाँच केजी प्याज रोपेकी हुन् । अपेक्षाभन्दा राम्रो उत्पादन भएपछि उनी उत्साहित छिन् । “बालुवामुनिको जमिन ओसिलो हुने भएकाले प्याज राम्रो फस्टाएको छ,” उनले भनिन्, “घरमा लगाएकोभन्दा बगरको प्याज राम्रो देखिएको छ ।”
त्यस्तै, पहारी चौधरीले पनि पहिलोपटक बगरमा प्याज रोपेका छन्। बिक्रीभन्दा पनि वर्षभरि घरखर्चका लागि पुग्ने उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । “अर्को वर्ष भने बिक्रीका लागि बढी लगाउने सोच छ,” उनले भने ।
विगतदेखि बगरखेती गर्दै आएका किसानले व्यावसायिक रूपमा नै खेती विस्तार गर्दै आएका छन् । खेती गरेबापत कसैलाई कर वा शुल्क तिर्न नपर्ने भएपछि किसान अझ उत्साहित भएका छन् । सामान्य मलखाद र कम मेहनतमै राम्रो आम्दानी हुन थालेपछि स्थानीयमा उत्साह थपिएको छ ।
वर्षात्को समयमा कर्णाली नदी को बाढीले त्रास सिर्जना गर्ने भए पनि हिउँदमा त्यही नदी किनारको बालुवाले स्थानीयलाई आम्दानी दिएको छ । “बर्खामा त्रास हुन्छ, तर हिउँदमा यही बगरले दुःख बिर्साइदिन्छ,” स्थानीय बृहस्पति थरूनी भन्छिन् ।
















प्रतिक्रिया थप्नुहोस्